फेसबुक, एक्स र इन्स्टाग्राम सूचीकृत हुन आएनन्, विटक, भाइवर र टिकटक सूचिकृत

काठमाडौँ : सरकारले फेसबुकसहित नेपालमा बढी प्रयोग हुने सामाजिक सञ्जाललाई सूचिकृत हुन आग्रह गरे पनि आएका छैनन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार जम्मा तीन वटा प्लेटफर्म मात्र सूचिकृत भएका छन्।
सञ्चार मन्त्रालयमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम मन्त्रालयमा सूचीकृत हुन आग्रह गरे।
मन्त्रालयले सूचीकरणका लागि एक्स, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्लेटफर्मलाई ताकेता गरे पनि उनीहरू आएनन्। मन्त्रालयको आह्वानपछि असोज १६ मा विटक, गत वर्षको फागुन २४ मा भाइबर र कात्तिक ८ मा टिकटक सूचीकृत भएका थिए।
मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सञ्चार मन्त्रालयमा सूचीकृत हुनैपर्ने बाध्यकारी व्यवस्था गरिएको बताए।
'हामीले पत्राचार नै गरेर सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकरण गर्न आग्रह गरेका छौँ , उनले भने,'फेरि अर्को पटक आह्वान गर्छौँ, अटेरी गरे कानुनी दायरामा ल्याउँछौँ।'
फागुन २३, २०८१ शुक्रबार १८:३४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।