४० हजारको विवादमा गोली हानेर हत्या, मोबाइल लोकेशनले पक्राउ

खलङ्गा : भाइको हत्या अभियोगमा बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ।
गत शनिबार गाउँकै भाइ नाता पर्ने २४ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरी फरार भएको अभियोगमा विष्टलाई दार्चुलाको महाकाली नगरपालिका- ९ दत्तुनाकाबाट प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल नेतृत्वको टोलीले विष्टलाई पक्राउ गरेको हो। बैतडीबाट आएका सादा पोशाकका प्रहरीसहितको सहयोगमा विष्टलाई पक्राउ गरिएको दाहालले जानकारी दिए।
उनका अनुसार विष्ट नेपाल–भारत सीमा क्षेत्रमा लुकेर बसेका थिए। मोबाइल लोकेसनका आधारमा पक्राउ गर्न सफल भएको उनले बताए।
लेनदेनका विषयमा विवाद हुँदा विष्टले भरुवा बन्दुकबाट गोली हानेर सुरेन्द्रको हत्या गरेको अभियोग छ। कर्णबहादुर विष्टले सुरेन्द्रलाई ४० हजार तिर्नुपर्ने थियो। सोही विषयमा विवाद हुँदा उनले गोली चलाएको जनाइएको छ।
फागुन २३, २०८१ शुक्रबार १८:१३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।