जसपाका पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा गए

सर्लाही: जनता समाजवादी पार्टी नेपालका पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
जनतासँग माओवाद, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका थिए।
साह २०७४ को निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०७८ देखि प्रमुख सचेतको भूमिका निर्वाह गरेका थिए।
पार्टी प्रवेशपछि नेता साहले २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख दल माओवादी केन्द्र भएकाले आफूले यही दल रोजेको बताए।
अहिले काङ्ग्रेस र एमाले पहिचान विरोधी दलको रूपमा देखिएको तथा मधेसी दल अवसरवादमा लिप्त भएकाले अब माओवादीलाई विश्वास गरेर मात्रै मधेसी जनताको मुक्ति सम्भव हुने उनले बताए।
फागुन २३, २०८१ शुक्रबार १६:५१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।