सयमा ७ नम्बर पाएका मन्त्री दाहालको दाबी : म फेल भएको होइन, बढी हौसिएको हुँ

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्यसम्पादन मूल्याङ्कनमा आफू फेल नभएको तर केही विषयमा हौसिएको दाबी गरे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा ७ अंकमात्र पाएपछि चौतर्फी आलोचना भोगिरहेका मन्त्री दाहालले आफू फेल नभएको कमजोर नरहेको जिकिर गरेका छन्।
शुक्रवार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको विभिन्न विषयमा जवाफ दिँदै उनले आफू अलि बढी हौसिएको तर कमजोर नभएको बताए।
उनले भने,‘पूर्व-पश्चिम, उत्तर-दक्षिणका राजमार्ग बन्दै छन्। जिम्मेवारी सम्हालेपछि सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु भएको छ। तीन सय बढी किमी कालोपत्रे भएको छ। हामी रेलको कुरा गरिरहेका छौँ। सरकारले यस अवधिमा एक किलोमिटर रेलमार्गको लक्ष्य राखेको थियो। तर, तीन किमी लिक निर्माण भएको छ।'
स्मार्ट लाइसेन्स वितरणमा कमजोर देखिएको स्विकार्दै उनले पुस मसान्तसम्म नौ लाख स्मार्ट लाइसेन्स वितरण गर्ने भने पनि हालसम्म एक लाख ६९ हजार मात्र लाइसेन्स वितरण भएको बताए।
उनले राजमार्गहरूमा अपेक्षित सफलता हासिल गरिएको बताए। ग्वार्को फ्लाई ओभरमा पनि हौसिएको मन्त्री दाहालको भनाइ छ।
‘ग्वार्को फ्लाई ओभरमा अलिक हौसिएछ। इपीसी मोडलमा बनाउन थालेका रहेछौँ। पुसमै सम्पन्न गर्ने भनिएकामा प्राविधिक कुरा आयो,’ उनले भने।
फागुन २३, २०८१ शुक्रबार १६:३०:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।