स्वास्थ्यमन्त्री पौडेललाई तोसिमाको प्रश्न– ‘पुरुष मन्त्रीले महिला सचिवसँग कामै गर्न नसक्ने हो?’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयमा भएको सचिव नियुक्तिमा राज्यले विभेद गरेको आरोप लगाएकी छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद कार्कीले स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिवको नियुक्तिका लागि भएको सिफारिस र वरिष्ठताको आधारमा एक नम्बरमा रहेकी डा. संगीता मिश्रालाई पन्छाएर अर्कैलाई नियुक्त गरेर राज्यले विभेद गरेको बताइन्।
संविधानमा लैंगिक समानताको धारा त राख्यौं तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको भन्दै उनले प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र सामाज्य प्रशासन मन्त्रीसँग जवाफ माग गरिन्।
उनले प्रश्न गरिन्, ‘क्याबिनेटले यस्तो नियुक्ति किन गर्यो? पुरुष मन्त्रीले महिला सचिवसँग कामै गर्न नसक्ने हो? कि महिला नेतृत्व स्वीकार नगरिएको हो? प्रधानमन्त्री, स्वास्थ्य मन्त्री र सामान्य प्रशासन मन्त्रीले यसबारेमा जवाफ दिनुपर्छ।’
संविधानमा आमाको नामबाट नागरिकता दिने प्रावधान भए पनि त्यसका अनेक शर्तहरु राखिएको र २५ जनाको मन्त्रिपरिषद्मा ३३ प्रतिशत पनि नपुग्ने गरी तीन जना मात्र महिला मन्त्री राखिएकोमा समेत उनले असन्तुष्टि व्यक्त गरिन्।
यसका साथै उनले संसदमै महिलामाथि विभेद भइरहेको बताइन्। कानून अनुसार हुनुपर्ने विषयमा समेत संसद उदासिन बनेको उनको आरोप छ।
‘प्रतिनिधि सभा नियमावलीमा महिला संसद समन्वय समिति बन्ने भनेर तीन वर्षअघि लेखिए पनि संसदले आजसम्म समिति बनाउँदैन। संसदीय समितिका सभापतिबाट ३३ प्रतिशत महिला सभापति हुनुपर्छ भनेर नियमावली लेखिए पनि आजसम्म पालना भएको छैन।’
राज्यले गरिरहेका तमाम विभेदहरुलाई सच्याएर समानताको उदाहरण संसदले प्रस्तुत गरोस् भन्दै उनले सुझाव दिएकी छन्।
फागुन २३, २०८१ शुक्रबार १३:४५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।