पत्रकार पास निलम्बन गरेको दुई दिनपछि सभामुखको भाषण- ‘प्रेस स्वतन्त्रतामाथि बन्देज लगाइँदैन’

पत्रकार पास निलम्बन गरेको दुई दिनपछि सभामुखको भाषण- ‘प्रेस स्वतन्त्रतामाथि बन्देज लगाइँदैन’

काठमाडौं : संसद सचिवालयले दुई पत्रकारहरूको प्रेस पास निलम्बन गरेको दुई दिनपछि सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम नहुने भाषण दिएका छन्।

शुक्रबार इकोनमिक मिडिया एसोसिएसन नेपाल(इमान) इमानको दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारणसभामा सभामुख घिमिरेले आफूहरू प्रेस स्वतन्त्रताको मर्म विपरीत जान नहुने बताएका हुन्।

‘प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको बन्देज लगाउने काम हुने छैन। सञ्चारसम्बन्धी कुनै पनि कानुनी व्यवस्था संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरीत जानुहुँदैन,’ उनले भने, ‘कुनै पनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पुर्याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर बनाउने प्रयत्न गर्नुहुँदैन।’

सभामुख घिमिरेले संसद कानुन निर्माण गर्दा तोकतान्त्रिक मूल्य मान्यता र प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसाथ गर्ने कुरामा पूर्ण प्रतिबद्धता रहेको बताए।

गत बुधबार सभामुख मातहतको संसद सचिवालयले प्रधानमन्त्रीलाई प्रश्न सोधेकै आधारमा दुई पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको थियो। त्यस विषयमा संसदमा प्रतिपक्षी सांसदहरूले प्रश्न उठाए पनि सभामुख र सत्ताधारी सांसदहरु मौन छन्।

फागुन २३, २०८१ शुक्रबार १२:४१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।