तरकारी बेच्दा ‘बिचौलियाले खाए’ भन्ने आरोपपछि ताराले सुरु गरिन् व्यावसायिक खेती, अहिले वर्षको ८० लाखको कारोबार

तरकारी बेच्दा ‘बिचौलियाले खाए’ भन्ने आरोपपछि ताराले सुरु गरिन् व्यावसायिक खेती, अहिले वर्षको ८० लाखको कारोबार
तस्विर : कृष्पा श्रेष्ठ/उकेरा

१६ पुगेर १७ वर्ष लागेकी थिइन् तारा। कक्षा ८ को पढाइ सकियो। गाउँमा नौ कक्षा पढ्ने विद्यालय थिएन भने छोरीलाई बाहिर राखेर पढाउने चलन पनि। कक्षा ८ को पढाइ सकिएपछि उनी गाउँमै घाँस दाउरा गर्ने भइन्, साथी थिइन् फुपूको छोरी। उनका दाइ भने काठमाडौंमा थिए। बिहान क्याम्पस पढ्दै दिउँसो सोल्टी होटलमा काम गर्थे। उनलाई दाइ पुगेको ठाउँमा पुग्न मन थियो तर त्यो छुट थिएन।

धादिङ बजारमा उनीहरू तरकारी बेच्न आउँथे। सधैँ झैँ तारा त्यो दिन पनि बजारमा तरकारी बेच्न आइन् फुपूकी छोरीसँग। तरकारी बेचेको दुई सय रूपैयाँ बोकेर उनीहरू दुवै  गाउँकै एक जना दिदीको साथ लागेर काठमाडौं हानिए।

गाउँकी दिदीले उनीहरूलाई  बुढानिलकण्ठ पुर्याइन्। बुढानिलकण्ठ पुगेपछि मात्र उनले थाहा पाइन्, ती दिदीले त आफ्नो छोरासँग विवाह गराउने योजना बुनेकी रहेछिन्। उनी र फुपूकी छोरीले त्यो कुरा थाहा पाएपछि उनीहरू त्यहाँबाट भागे।

बुढानिलकण्ठमा अहिलेको जस्तो बस्ती छँदै थिएन। उनीहरू काठमाडौं आएको कुरा दाइले थाहा पाइसकेका थिए। दाइ बहिनीहरू लिन बुढानिलकण्ठ जाँदै थिए, बाँसबारीमै जम्काभेट भयो। दाइले उनीहरूलाई आफ्नो कोठा ल्याए।

कालीमाटी क्षेत्रमै थियो उनीहरूको बसाइ। कालीमाटी तरकारी तथा फलफूल बजार अहिलेको जस्तो व्यवस्थित थिएन।  बाहिर सडकमै तरकारी बिक्री गरिन्थ्यो। उनले जानेको काम पनि त्यही। सडकमै बसेर तरकारी बेच्न थालिन्।

‘त्यतिबेला सडकमा बेच्न पनि प्रहरीले लखेट्थे। तरकारी बोकेर कुद्नपर्थ्यो,’ उनले ती दिन सम्झिइन्, ‘भित्र त पूरै हिलै हिलो थियो। पछि मात्रै हो भवन बनेको त हो। भवन बनेपछि भने सडकमा तरकारी बेच्नेहरू भित्र जान थाले।’

स्टल नम्बर एक 
बिहानै साढे दुई बजे जुरुक्क उठ्यो। चिया नास्ता बनाएर खायो अनि घरबाट तीन बजे कालीमाटी तरकारी तथा फलफूल बजार आयो र काम गर्न थाल्यो। २०४८ सालमा कालिमाटी तरकारी बजारमा स्टल राखेपछि यसरी नै बितेका छन् उनको दैनिकी। विवाह गरिन्, छोराछोरी भए। अहिले त हुर्कि पनि सके। छोरी अष्ट्रेलियामा छिन् भने छोरा काठमाडौंमै काम गर्छन्।

बजार व्यवस्थित भएपछि तारा स्टलमा काम गर्ने भइन्। स्टल राख्न पैसा तिर्नु पर्थ्यो। मूल्य पनि स्टल हेरेर थियो। ग्राहकको आँखा लाग्ने स्थानमा २ सय १०, अलि पर १ सय ९२ रूपैयाँ। गाउँबाट डोकामा तरकारी ल्याएर बेच्नेहरूले स्टल राखेर बेच्न सक्ने कुरा भएन। बाटोमा तरकारी बेच्न पनि नपाउने, स्टल राख्न नसिकिने।

नजिकका किसानहरूले स्टलवालालाई तरकारी तथा फलफूल छोडेर जान्थे। अर्को पटक आउँदा पैसा उठाउँथे। ताराका अनुसार बजारमा नेपाली तरकारी एकदमै कम थिए। गाउँ-गाउँमा व्यावसायिक तरकारी खेती नै हुँदैनथ्यो। खेती गरेको ठाउँबाट पनि बजार ल्याउन एकदमै सकस। अहिले जस्तो बाटो थिएन। तरकारी पनि सीमित मात्रै पाइन्थ्यो- साग, फर्सी, मूला, लसुन यस्तै यस्तै।

‘त्यतिबेला व्यावसायिक रूपमा तरकारी लगाउने चलन नै थिएन। सरकारले कृषि सहुलियतका कार्यक्रम बे-मौसमी तरकारीबारे किसानलाई शिक्षित गर्दै लगेपछि हो तरकारी खेती हुन थालेको। पहिले त अहिलेको जस्तो थिएन नी’, ताराले भनिन्।

ताराले कहिले भारतीय तरकारी त कहिले धादिङ, चितवन, मकवानपुर र काभ्रेपलाञ्चोकका तरकारी पनि बेचिन्। २०६० सालपछि भने नेपाली कृषकले पनि तरकारी उत्पादन बढाउन थाले। बजारमा नेपाली तरकारी आउन थाल्यो। महंगा तरकारी बेलाबखत सस्ता पनि हुन थाले।

सहकारीबाट संगठित 
२०६५ सालमा तारा अनि कालीमाटी बजारमा स्टल राख्ने महिलाहरू मिलेर श्री महिला सहकारी  खोले। ताराका अनुसार यो सहकारी सफल रूपमा चलेको भन्दै केही समयअघि सांसद सूर्य थापा नेतृत्वको सहकारी छानबिन समितिले बोलाएको पनि थियो। समितिको प्रतिवेदनमा महिलाहरूले चलाएको केही सहकारीलाई बोलाएर सफलताको कुरा पनि उल्लेख गरेको छ।

ताराका अनुसार सहकारी खोलेको समयमा २० रूपैयाँ जम्मा गरे। त्यतिबेला कसैले पत्याएनन्, सबैले उडाए। तर उनीहरूले हार मानेनन्। यो रकम पालैसँग ऋण लिन पाए भने धेरै महिला आबद्ध हुँदै गए। तारा दुई कार्यकाल सहकारीको अध्यक्ष पनि भइन्। अहिले उनी सहकारीको साधारण सदस्य मात्रै छिन्। सहकारीले न्यून आय भएका महिलाहरूलाई  १० देखि १२ प्रतिशत ब्याजमा कर्जा प्रवाह गरिरहेको छ।

‘सहकारीले हामीलाई पैसा जोगाउन पनि सिकायो व्यवसायमा भरथेग पनि गर्यो,’ उनले भनिन्, ‘नियममा बसेर चलाउने हो भने कृषिमा लागेकालाई सहकारीले धेरै नै भरथेग गर्ने रैछ।’

‘विचौलिया’ नभए कसरी चल्छ बजार !
ताराका अनुसार कालीमाटीका अधिकांश तरकारी व्यापारीले गाउँ-गाउँमा तरकारी लगाउन पनि सहयोग गरिरहेका हुन्छन्। कुन बिउ-बिजन लगाउने, कुन-कुन मलको प्रयोग गर्ने, किटनाशक औषधिको प्रयोग कसरी गर्ने, कुन समयमा कुन तरकारी लगाउने अनि ढुवानीमा सहजीकरण पनि गरिदिन्छन्। तर, यो काम गरेको नदेखि जहिल्यै ‘कृषकलाई मार पर्यो विचौलियाले खाए’ भनेको सुन्दा आफूलाई नराम्रो लाग्ने गरेको बताइन्।

नेपाली बजारमा नेपाली तरकारी आउन थालेको धेरै भएकै छैन। कालीमाटी तरकारी बजारका बिक्रेताले कुन ठाउँमा कस्तो तरकारी हुन्छ भन्ने हेरेर गाउँलेलाई तरकारी लगाउन सुझाव दिएको अनि लगानी समेत गरेको उनको दाबी छ।

उकेरालाई प्रष्ट्याउँदै ताराले भनिन्, ‘कालीमाटी तरकारी बजारको बिक्रेताले आफूलाई पायक पर्ने गाउँ अनि काम गर्नसक्ने केही व्यक्ति छान्छ। कुन तरकारी लगाउने, के-के प्रयोग गर्नेसहितका काम र बजारीकरणमा किसानलाई मध्यस्तकर्ताले सहजीकरण गर्छन्। उत्पादन भएका सामान संकलन र ढुवानी पनि गर्छन्।’

ताराका अनुसार यति काम गरिदिएबापत व्यापारीले मध्यस्थकर्ताले केही कमिसन पनि पाउँछ। यसले किसानलाई पनि फाइदा नै  हुने उनको बुझाइ छ।

किसानबाट ६० रूपैयाँमा किनेको सामान भान्सामा पुग्दा असाध्यै महङ्गो भयो भन्ने भनाइमा जायज  तर्क नभएको उनी बताउँछिन्। एक बोरा सामान चित्लाङबाट कालिमाटी आउँदा कति खर्च लाग्छ भनेर मुखैले हिसाब गरिन् उनले।

झोला सिलाउने डोरी किन्नै पर्यो, एक बोराको कर ३० रूपैयाँ, प्रतिकिलो ४ रूपैयाँ भाडा, लोड-अनलोड ६ देखि १५ रूपैँया पर्छ। केही प्रतिशत नाफा कालीमाटी तरकारी बजारले लिन्छन् अनि केही प्रतिशत खुद्रा बिक्रेताले। खर्च कटाएर बेच्दा भान्सामा ९० रुपैयाँमा आउनु त ठिकै भएको उनको बुझाइ छ।

कुराकानीकै क्रममा उनी मिडियाप्रतिको गुनासो पनि पोखिहालिन्। तरकारी महंगिएको बेलामा बिचौलियालाई दोष दिएर समाचार लेखे पनि धेरै तरकारी आई मूल्य घटेर कुहिएर घाटा लाग्दा नलेख्दा चित्त दुख्ने गरेको बताइन्।

‘तरकारी तथा फलफूल छिटो कुहिन्छ। अघिल्लो दिनमा महंगोमा बेचेको सामान भोलिपल्ट सस्तोमा बेच्न पर्ने पनि हुन सक्छ। बजारमा तरकारी हाहाकार भएर केही महंगो पर्न जान्छ। बजारको प्रक्रिया नै नबुझी खाली विचौलिया भनेर लेख्ने। यिनै विचौलिया नभए बजार चाहिँ कसरी चल्छ त!’,  उनले भनिन्।

...अनि आफ्नै कृषि फार्म 
कालिमाटीमा तरकारी बेच्दा कुन तरकारी कसरी लगाउने के-के गर्ने भन्नेमा पोख्त भइन् तारा। काभ्रेपलाञ्चोकको तरकारीमा अत्यधिक विषादी भन्ने समाचारहरू आए। तरकारी बिक्नै छाडे। तरकारी बिक्रेतालाई पनि विचौलिया भन्न थालेपछि भने तारा आफैँलाई खेती गरौँ भन्ने लाग्यो। श्रीमानसँग पनि सल्लाह गरिन्। साँखुको सल्मबुटारमा ६० रोपनी जग्गा पनि पाइन्। त्यसैमा खेती गरिन्।

शुरुको वर्षमा १२ लाख लगानी गरिन्। ब्रोकाउली, गोलभेँडा, साग, मुला लगायतका तरकारी फलाइन्। सात लाख आम्दानी भयो। बैंकबाट ऋण पनि निकालिन् सहुलियत दरको खर्च अरु बढ्यो। मलका लागि गाई पनि पालन गरिन्। काम गर्न २० जना राखेकी छन्।

कामदार बसेका जोडीलाई खान लाउन दिएर महिनाको २५ हजार तलब समेत दिन्छिन्। कामदारका केटाकेटी विद्यालयमा पढाइदिएकी छन्। अहिले ८० लाख भन्दा बढि खर्च हुन्छ। आम्दानी पनि त्यही अनुसार भएकोमा दङ्ग छिन् तारा।

‘शुरूवातको वर्षमा केही घाटा लागे पनि त्यसपछिका वर्षमा भने मलाई घाटा लागेन। शंखरापुर नगरपालिकाले ठूला कृषक भनि आर्थिक सहयोग पनि गर्यो जुन मैले सोचेकै थिइनँ। तरकारी फलाउन पनि बेच्न जस्तै संघर्ष रहेछ। अहिले बुझिरहेको छु’, उनले उकेरासँग भनिन्।

रोपनीको वार्षिक ३० हजार तिरेर भाडामा लिएकी हुन् जग्गा। बाह्रै महिना उत्पादन भइरहन्छ। उनले पनि उत्कृष्ट कृषकको सम्मान पत्र समेत थापिन्। शंखरापुर नगरपालिकाले पहिलो वर्ष १२ लाख दोस्रो वर्ष ५ लाख रूपैयाँ अनुदान पनि दियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण अनि बिजुलीमा दिएको अनुदानले निकै सहज भएको उनको बुझाइ छ।

‘अनुदान पाइन्छ भन्ने मलाई थाहा थिएन। बिजुलीको पैसा २२ हजार उठेपछि भने मैले मेरा साथीहरूलाई भने। उनीहरूले अनुदान पाइन्छ भनेपछि नगरपालिका पुगेको थिएँ। उनीहरू मेरो कृषि फार्म आएर हेरे। अनि अनुदान पनि दिने भए,’ उनले अझ थपिन्, ‘सरकारले अनुदान दिन्छ र काम गरौँला भनेर बस्ने त हैन तर सहुलियत दिएको छ भने चाहिँ लिनुपर्ने रहेछ।’

ताराले अहिले ८० लाख बढीको कारोबार गर्छिन्। गत साल त गोलभेँडा किन्न भारतदेखि तरकारी क्रेताहरू समेत आएका थिए। उत्पादन गर्न  सके बजार पाउने उनको बुझाइ छ।

फागुन २३, २०८१ शुक्रबार ११:२४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।