क्यानडा र मेक्सिको खरो रूपमा उत्रिएपछि कर लगाउने आफ्नै निर्णयबाट पछि हटे ट्रम्प

क्यानडा र मेक्सिको खरो रूपमा उत्रिएपछि कर लगाउने आफ्नै निर्णयबाट पछि हटे ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउने निर्णयबाट पछि हटेका छन्।

क्यानडा र मेक्सिको खरो रूपमा उत्रिएर विद्युत् कटौती र नाका नै बन्द गर्ने अवस्थामा पुगेपछि ट्रम्प पछिल्लो दुई दिनमा आफ्नै निर्णयबाट पछि हटेका हुन्।

यी निर्णयहरूले व्यवसायहरूको लागि अनिश्चितता बढाएको छ भने वित्तीय बजारहरू चिन्तित छन्। बुधबार उनले कार निर्माताहरूलाई २५ प्रतिशत आयात शुल्कबाट अस्थायी रूपमा छुट दिने बताएका हुन्।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले ट्रम्पलाई यस कदमको लागि धन्यवाद दिए भने क्यानडाका अर्थमन्त्रीले देशले अमेरिकी उत्पादनहरूमा दोस्रो चरणको परस्पर कर लगाउने निर्णयलाई हाललाई ढिलाइ गर्ने बताए।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग करको बारेमा फोन वार्ता भएको बताएका छन्। ट्रुडोले पत्रकारहरूसमक्ष तत्कालका लागि केही राहत भए पनि व्यापारलाई लिएर दुई सहयोगीहरू बीच भविष्यमा टकरावको सम्भावना कायमै रहेको बताए।

मेक्सिकन राष्ट्रपति शेनबाउमसँगको फोन वार्तापछि ट्रम्पले अप्रिल २ सम्म छूट विस्तार गर्न सहमत भएको बताएका छन् र यो उपाय कार निर्माता र पार्टपुर्जा आपूर्तिकर्ताहरूलाई सहयोग गर्ने उद्देश्यले गरिएको बताएका छन्।

ह्वाइट हाउसका एक अधिकारीले मेक्सिकोबाट हुने लगभग ५० प्रतिशत अमेरिकी आयात र क्यानडाबाट हुने ६२ प्रतिशत आयातमा अझै पनि भन्सार शुल्क कायम रहनसक्ने बताएका छन्।

फागुन २३, २०८१ शुक्रबार ०८:२१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।