काठमाडौँमा भारतीयहरूको अनलाइन जुवा अखडा : २३ सहयोगी, साढे २ अर्बको कारोबार

काठमाडौँमा भारतीयहरूको अनलाइन जुवा अखडा : २३ सहयोगी, साढे २ अर्बको कारोबार

काठमाडौँ : अनलाइन जुवा खेलाउने गिरोह खोज्नेक्रममा केन्द्रीय अनुसन्धान ब्युरोले गोंगबुस्थित एक घरमा छापा मार्दा २३ जना भारतीय नागरिक फेला परे। माघ २७ मा भएको विशेष अप्रेसनमा जति पक्राउ परे ती सबै नेपालमा अनलाइनमा काम गर्ने भनेर आएकाहरू रहेको खुल्यो।

प्रहरीले उनीहरूको साथबाट ८८ वटा मोबाइल फोन, १० वटा ल्यापटप, ५० वटा भारतीय सिम कार्ड, ९ वटा एटिएम कार्ड तथा ८१ हजार नेपाली रुपैयाँ बरामद गर्यो।

उनीहरूलाई भारतमा रहेकाहरूले नेपालमा बसेर काम गर्नुपर्ने भनेर उतै भारतमा अनलाइन सट्टा र जुवा खेलाउने प्रशिक्षण दिएर नेपाल पठाउने गरेको खुल्यो। उनीहरू मासिक १५ हजार भारतीय रुपैंया मासिक पारिश्रमिक पाउने सर्तमा नेपाल आएका थिए।

बिहीबार काठमाडौँ जिल्ला अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख भए अनुसार पक्राउ परेका अभियुक्तहरू भारतको बिहार, उत्तर प्रदेश, छत्तीसगढ लगायतका देखिन्छन्। उनीहरूले नेपालमा "Lotus365" नामक अनलाइन बेटिङ साइटको प्रयोग गरी नेपालमा सट्टाबाजी सञ्चालन गर्दै आएका थिए।

अभियुक्तहरूले वेबसाइट तथा टेलिग्राम, व्हाट्सएप, फेसबुक जस्ता सामाजिक सञ्जालको माध्यमबाट ग्राहकहरूलाई फसाउने र अनलाइन माध्यमबाट ठुलो रकम लेनदेन गर्ने गरेको अभियोग पत्रमा दाबी गरिएको छ। प्रहरीले बरामद गरेको विवरण अनुसार अभियुक्तहरूले करिब डेढ अर्ब नेपाली रुपैयाँ बराबरको अवैध कारोबार गरिसकेका थिए।

अनुसन्धानमा उनीहरूले 'Lotus365' सँगै 'Laser247', 'Gold365' जस्ता साइटहरूमा खाता खोलेर खेलमा आधारित अनलाइन जुवा खेल्न चाहनेहरूलाई 'युजर आइडी' र 'पासवर्ड' बनाएर दिन्थे।  उनीहरूले ती खाताहरूमा पैसा जम्मा गरेर अनलाइन बेटिङ गर्थे। जितेको रकमलाई उनीहरूले क्रिप्टोकरेन्सी  तथा बैंक खातामार्फत कारोबार गर्ने गरेका थिए। पक्राउ परेका अधिकांश भर्खरका युवाहरू छन्। अनि अधिकांश भारतको बिहारमा छन्।

जुवा खेलाए बापत मासिक १५ हजार भारु

अनुसन्धानका क्रममा खुलासा भएअनुसार पक्राउ परेका अभियुक्तहरूलाई भारतबाट नेपाल पठाउने मुख्य संयोजक अर्णव जैसवाल। जैसवालले युवाहरूलाई अनलाइन बेटिङ खेलाउनु पर्ने र त्यसबापत मासिक १५ हजार भारु तलब दिने भनेर नेपाल पठाएका थिए।

नेपालमा आएपछि ती युवाहरूले भारतमा रहेका मुख्य योजनाकारको निर्देशन अनुसार बेटिङ साइटहरूको सञ्चालन, ग्राहकहरूसँग कुराकानी गर्ने, जित-हारको रेकर्ड राख्ने, पैसा जम्मा गर्ने र पैसा ट्रान्सफर गर्ने काम गर्ने गरेका थिए। अभियोग पत्रमा जैसवाललाई मुख्य योजनाकारका रूपमा उल्लेख गरिएको छ।

पक्राउ परेका अधिकांशले आफूहरू रोजगारीको खोजीमा नेपाल आएको बताएका छन्। बयानमा केही अभियुक्तहरूले 'Lotus365' को मास्टर आइडी सञ्चालन गर्ने व्यक्तिले नेपाल बोलाएर अनलाइन सट्टाबाजी गराउने काम लगाएको बताएका छन्। केही अभियुक्तहरू अनलाइन सट्टा खेलाउनुपर्ने जानेरै नेपाल आएको देखिन्छ भने केहीले भने नेपाल आएपछि मात्र के काम हो भन्ने खुलेको दाबी गरेका छन्।

अभियुक्तहरूले बयानमा भनेअनुसार, उनीहरू नेपाल आएपछि सट्टाबाजीमा संलग्न गराइए। उनीहरूको काम मुख्यतः नयाँ खेलाडीहरूलाई अनलाइन बेटिङमा आकर्षित गर्ने, 'युजर आइडी' तथा 'पासवर्ड' वितरण गर्ने, रकम जम्मा गर्ने र जितेको रकम ग्राहकहरूलाई ट्रान्सफर गर्ने रहेको देखिन्छ। उनीहरूले ग्राहकहरूलाई विश्वास दिलाउन विभिन्न सामाजिक सञ्जालहरूमा बेटिङसम्बन्धी प्रचारप्रसार समेत गर्ने गरेको खुल्यो।

सट्टाबाजीमा प्रयोग गरिएका वेबसाइटहरूमा लगइन गरी खेलाडीहरूको गतिविधि अनुगमन गर्ने, जित वा हारको विवरण राख्ने, तथा क्रिप्टोकरेन्सी वा बैंकिङ माध्यमबाट पैसा लिने-दिने उनीहरुको जिम्मेवारी देखियो। उनीहरूलाई भारतमा रहेका प्रमुख योजनाकारले आवश्यक निर्देशन दिने गरेको देखिन्छ।

फागुन २२, २०८१ बिहीबार २१:३५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।