सहकारीका बचतकर्ताको रकम तत्काल फिर्ता गराउन नौ संस्थाको माग

सहकारीका बचतकर्ताको रकम तत्काल फिर्ता गराउन नौ संस्थाको माग

काठमाडौँ : सहकारी बचतकर्तासँग सम्बन्धित विभिन्न नौ वटा सङ्घसस्थाले बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्न माग गरेका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ), लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति, सत्य र न्यायको खोजी अभियानलगायत सङ्घसंस्थाले संयुक्त पत्रकार सम्मेलन गरेर बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी रकम अपचलन गर्ने सञ्चालकलाई कानुन बमोजिम कारबाही गर्न माग गरे।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ)का अध्यक्ष कुशलभ केसीले वर्षौँसम्म वित्तीय शोषण गर्ने सहकारी संस्थालाई कारबाही गर्दै पीडित सर्वसाधारणलाई न्याय दिने विषयमा सरकारले ढिला गर्न नहुने बताए।

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले पीडित न्यायका लागि निरन्तर सङ्घर्षमा रहँदा पनि सरकारले न्यान दिन ढिलाइ गरिरहेको बताए।

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले पीडितको न्यायका लागि सरकारले आवश्यक रकमको कोष खडा गरेर उनीहरूलाई भुक्तानी गर्ने र अपचलन गर्ने संस्था तथा व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर असुल गर्न सुझाव दिए।

फागुन २२, २०८१ बिहीबार २०:१३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।