कृषिमन्त्री भन्छन् ‘राम्रो काम देखेर आत्तिएको समूहले सरकार विरुद्ध भ्रम फैलाए’

नवलपरासी : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारले राम्रो गरेकाले आत्तिएको समूहले सरकार विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजेको दाबी गरे।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सवको उद्घाटनमा उनले सरकारका असल कामबाट आत्तिएर केही समूहले भ्रमको खेती गरेको आरोप लगाए।
‘केही समूहले प्रमुख दुई दल मिलेर बनेको सरकारले सबै कुरा बिगारेको जस्तो गरी गलत प्रचार गरेका छन्’, उनले भने।
अधिकारीले वर्तमान सरकारले जनताको हितमा काम गर्ने प्रतिबद्धतासहित गठबन्धन गरेकाले २०८४ सालसम्ममा आर्थिक समृद्धिको आधार तय हुने दाबी समेत गरे।
अहिले देखिएको आर्थिक मन्दी अन्त्यका लागि कृषि उत्पादन वृद्धि गर्दै बजारीकरणको जिम्मा सरकारले लिनेगरी योजना बनेको उनले बताए।
‘हामी २०८४ सालसम्ममा समृद्धिको ढोका खोल्ने सङ्कल्पसहित सरकारमा आएका हौँ”,मन्त्री अधिकारीले भने, ‘गाउँ गाउँमा समृद्धि कसरी गर्न सकिन्छ, कृषिबाट के गर्न सकिन्छ भन्नेबारे सरकार चिन्तनशील छ, पक्कै सबैले अनुभूति हुनेगरी प्रगति हुनेछ।’
फागुन २२, २०८१ बिहीबार २०:०६:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।