माओवादी सांसद पौडेलले संसदमै खेम सेञ्चुरीको गीत सम्झिएपछि...

माओवादी सांसद पौडेलले संसदमै खेम सेञ्चुरीको गीत सम्झिएपछि...
फाइल तस्बिर

काठमाडौं : माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले विदेशमा रहेका नेपालीहरुको सुरक्षाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले अमेरिकासहित विभिन्न देशबाट नेपालीहरुलाई अमानवीय तवरले डिपोर्ट गरिरहेको भन्दै उनीहरूको सुरक्षा र सम्मानपूर्वक फिर्ता हुने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन्।

‘अमेरिकाबाट अपमानजक तरिकाले नेल र हतकडीसहित मानव अधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्यमान्यता विपरीत नेपालीहरूलाई फिर्ता गरिएको छ,’ उनले भने, ‘विदेशमा रहेका नेपालीहरुको सुरक्षा र त्यहाँ रहेका नेपालीहरुको सहजतापूर्वक फिर्ता गर्ने व्यवस्था गर्नका निम्ति सरकारले पहलहदमी लिओस्।’

खेम सेञ्चुरीको गीत ‘रहरले त होइन मायालु, यो देशमा त भविष्य छैन मायालु’ बोलको गीत भनेर बोल्न सुरु गरेका सांसद पौडेलले नेपालमा भविष्य देखाउने गरी काम गर्न पनि सरकारसँग आग्रह गरे।

अमेरिकाबाट ३५ जना, दुबईबाट दुई हजार पाँच सय जना, जापानबाट दुई जना, दक्षिण कोरिया, श्रीलंका, क्यानडा, ब्राजिल, अजरबैजान लगायतका देशहरुबाट नेपालीहरु डिपोर्ट भइरहेका तथ्यांक समेत उनले सदनमा प्रस्तुत गरे।

नेत्र अर्यालको शब्द तथा खेम सेञ्चुरीकै संगीतमा गतवर्ष रिलिज भएको गीतमा खेमसँगै गायिका सुनिता बुढा मगरको स्वर छ।

फागुन २२, २०८१ बिहीबार १४:२४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।