‘आउटल दफा २१९’को ट्रेलरमा रवि लामिछाने, के फिल्ममा पनि छन्?

‘आउटल दफा २१९’को ट्रेलरमा रवि लामिछाने, के फिल्ममा पनि छन्?

काठमाडौं : टेलिभिजनमा कार्यक्रम चलाएर राम्रै चर्चा बटुलेर राजनीतिक पार्टी खोलेको छोटो समयमै गृह र उपप्रधानमन्त्री बनेका लामिछाने आजकल गुमनाम झैँ छन्।

सहकारी ठगीको आरोपमा ८३ दिन कास्की प्रहरीको हिरासत बसेर ८४औं दिनमा छुटेका उनी अहिले बेला-बेला अदालतमा हाजिर हुन जाँदाबाहेक बाहिर देखिँदैनन्।

रविमाथि सहकारीमा सर्वसाधारणको रकम ठगी गरी टेलिभिजनमा खर्च गरेको आरोपमा विभिन्न जिल्लामा मुद्दा दायर भएको छ।

कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछाने कास्की, काठमाडौं, चितवन र रूपन्देही जिल्ला अदालतमा गरी जम्मा २ करोड ७९ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका हुन्। पर्सामा उनीविरुद्ध मुद्दा दर्ता हुन बाँकी नै छ।

पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिइसकेको र सांसद पद पनि निलम्बनमा रहेको हुनाले राजनीतिक रुपमा उनी अहिले फुर्सदमा छन्।

यही समयमा उनले फिल्म खेलेको चर्चा समेत नेपाली फिल्म वृत्तमा चल्यो। नेपाली फिल्म ‘आउटल दफा २१९’को ट्रेलर रिलिज भएपछि यो चर्चाले झनै मलजल पायो। कारण थियो- फिल्मको ट्रेलरमा रहेको रवि लामिछानेको आवाज।

बहालवाला प्रधानमन्त्री केपी शर्मा, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, सांसदहरू देवेन्द्र पौडेल र ज्ञानबहादुर शाहीले फिल्ममा अभिनय गरिसकेको अवस्थामा लामिछानेले पनि अतिथि भूमिमा निभाए होला भन्ने लाग्नु स्वभाविक पनि हो।

उसो लामिछाने नेपाली मिडिया जगतमा कलाकार र सञ्चारकर्मीकै हैसियतले आएका हुन्। राजनीतिमा लाग्नुअघि उनी विभिन्न ब्रान्डका ब्रान्ड एम्बासडर समेत भएकाले उनले अभिनय गर्नसक्ने अनुमान झनै बलियो भयो।

अनुमानलाई पक्का गर्नका लागि उकेराले रवि लामिछानेको आवाज ट्रेलरमा समावेश गरिएको फिल्म ‘आउटल दफा २१९’का निर्देशकलाई नै सम्पर्क गर्यो। कुराकानीमा उनले फिल्मा रवि लामिछानेको आवाज भएको स्वीकार गरे पनि अभिनय गरेको कुरालाई भने अस्वीकार गरे।

‘उहाँले राजनीतिमा आउनुअघि नै सिधाकुरा जनतासँग भन्ने कार्यक्रम गर्नुभएको थियो। फिल्मको सिनमा समाचारको स्रोतका लागि उहाँको आवाज प्रयोग गरिएको हो,’ फिल्मका निर्देशक बिकी महर्जनले उकेरासँग भने, ‘फिल्ममा उहाँको कुनै पनि सिन छैन। उहाँले हाम्रो सिनेमामा अभिनय गर्नुभएको छैन।’

फिल्ममा लामिछानेको आवाज राख्नका लागि अनुमति लिएको हो? भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिन सकेनन्।

उनले थपे, ‘हामीले युट्युबमा भएको कार्यक्रम सिधाकुरा जनतासँगबाट समाचारको स्रोतको रूपमा उहाँको आवाज प्रयोग गरेका हौँ।’

फागुन २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, ऋषि धमला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लगुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की, आयन परियार लगायतका कलाकारहो अभिनय छ।

निर्देशक महर्जनकै लेखन रहेको फिल्मलाई अमित अग्रहरी र निशा गाइडले निर्माण गरेका हुन्। नवीन गुरुङले खिचेको फिल्मको पटकथामा निर्देशक महर्जनलाई दीर्घ धामीले सघाएका छन्। फिल्म क्राइम थ्रिलर जनरामा बनेको छ।

फागुन २२, २०८१ बिहीबार १३:५७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।