सिन्दूरमा विश्व बस्नेतले ७ हजार पारिश्रमिक पाउँदा हिरोइन मिनाक्षीले लिइन् १० हजार

काठमाडौँ : नेपाली नेपाली फिल्मका अभिनेत्रीहरूको प्राय गुनासो सुनिन्छ, उत्तिकै मात्रामा अभिनय गर्दा हिरोको जति पारिश्रमिक महिला कलाकारले पाउँदैनन्। कला क्षेत्रमा महिलाहरूमाथि पारिश्रमिकमा विभेद हुने गरेकोबारे बहस भइरहेकै छ।
मङ्गलवार ‘महिला चलचित्र महोत्सव’मा पनि यहीँ कुरा उठ्यो। चलचित्र विकास बोर्डमा भइरहेको कार्यक्रममा यही प्रसङ्ग उठेपछि ४५ वर्ष अघि प्रदर्शनमा आएको फिल्म ‘सिन्दूर’का अभिनेता विश्व बस्नेतले भने यो स्विकारेनन्।
उनले आफूले सो फिल्ममा अभिनय गर्दा ७ हजार पारिश्रमिक पाउँदा अभिनेत्रीले १० हजार पाएको बताए। उनका अनुसार अभिनेत्रीको अभिनयबारे उनले फिल्म निर्देशक प्रकाश थापासँग छलफल गरेका थिए। अभिनेत्री थिइन् मिनाक्षी आनन्द। कुराकानीमा निर्देशक थापाले मिनाक्षीलाई १० हजार पारिश्रमिक दिने भनेको बताए। उनको भने सात हजार थियो पारिश्रमिक।
‘एउटा रसियन जिप थियो। सुटिङ स्पटमा जाँदा हिरोइन र उसको आमा अगाडि बस्थे। म हिरो चाहिँ पछाडि,’उनले हँसाउँदै भने,‘मेरो साथीले मलाई उक्साउँदै भन्यो ‘त पनि त हिरो होस् नि। अगाडि बस’। मैले प्रोडक्सनको हेड श्याम दाइलाई मलाई किन पछाडि भनेर सोधेँ। त्यसपछि पहिला हिरोइनको आमालाई स्पटमा पुर्याएर मलाई लिन आउन थाले।’
नेपाली फिल्म इतिहासमा सिन्दूर व्यावसायिक रूपमा पहिलो सुपर हिट फिल्म मानिन्छ जसको अभिनेत्री मिनाक्षी भारतीय थिइन्।
अभिनेता बस्नेतले त्यो समयको चर्चा गरे पनि अहिलेको अवस्था भने फरक देखिन्छ। अभिनेताहरूको पारिश्रमिक एकै फिल्ममा ५० लाख पुग्दा पनि १० लाख माथि पारिश्रमिक पाउने अभिनेत्रीको सङ्ख्या निकै कम छ।
अभिनेताहरूले सानका साथ आफ्नो पारिश्रमिक खुलाउँछन्। तर अभिनेत्रीहरू प्राय मौन नै बस्छन्। कारण पारिश्रमिकको अन्तर नै देखिन्छ।
फागुन २१, २०८१ बुधबार २०:१६:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।