टाइब्रेकरमा युनाइटेडलाई हराउँदै पुलिस क्लब वीरगन्ज गोल्डकपको फाइनलमा

वीरगन्ज : दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब पुगेको छ। वीरगन्जको आर्दशनगर रङ्गशालामा बुधवार भएको खेलमा आयोजक युनाइटेड वीरगन्ज क्लबलाई टाईब्रेकरमा ७–६ गोल अन्तरले पराजित गर्दै पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो।
खेलको निर्धारित समयमा दुवैतर्फबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा दुवै टिमको तर्फबाट ९–९ वटा पेनाल्टि सुट प्रहार भएको थियो।
पुलिस क्लबले आगामी फागुन २४ मा फाइनलमा प्रतिस्पर्धा गर्नेछ। पुलिस क्लब गत वर्षको वीरगन्ज गोल्डकपको विजेता टोली हो।
फागुन १७ देखि सुरु भएको वीरगन्ज गोल्डकप फागुन २४ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय एघार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल पाउनेछन्।
फागुन २१, २०८१ बुधबार १९:५१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।