होम ट्युसनमा यौन दुर्व्यवहार, सह-प्राध्यापकविरुद्ध मुद्दा

काठमाडौं : काठमाडौँस्थित एक विद्यालयका सह-प्रधानाध्यापक बुद्धिसागर त्रिपाठीमाथि बाल यौन दुराचारको आरोपमा मुद्दा दायर भएको छ।
होमट्युशन पठाउनेक्रममा त्रिपाठीले एक १४ वर्षीया छात्रालाई पटक–पटक यौन दुर्व्यवहार गरेको अभियोग पत्रमा उल्लेख छ। बालिकालाई त्रिपाठीले यौन दुर्व्यवहार गरेको उनको आफन्तले देखेपछि प्रहरीमा उजुरी परेको थियो।
उजुरी अनुसन्धानपछि प्रहरीले बुझाएको प्रस्तावित राय अनुसार त्रिपाठीले यौन दुर्व्यवहार गरेको दाबी सहित बुधवार जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर भएको हो। अभियोग पत्रमा त्रिपाठीले घटना अस्वीकार गरे पनि उनले यौन दुर्व्यवहार गरेको देखिएको दाबी गरिएको छ।
पीडित छात्राको गम्भीर आरोप
पीडित छात्राको बयान अनुसार, उनी त्रिपाठीबाट गणित र विज्ञान विषयको ट्युसन पढ्दै आएकी थिइन्। बाबु जागिरे, आमा अमेरिकामा भएकाले उनी आफ्नो ठुलो आमाको घरमा बस्दै पढिरहेकी थिइन्। त्रिपाठी लामो समयदेखि परिवारकै नजिकका मानिसहरूसँग सम्पर्कमा रहेर ट्युसन पढाउँदै आएका थिए।
छात्राले बयानमा भनेकी छन्, ‘ट्युसन पढाउने बहानामा त्रिपाठी सरले पटक–पटक मलाई अनुचित रूपमा छोउन् खोज्नुभयो। कहिले मेरो काँधमा हात राख्ने, कहिले अँगालो हाल्ने अनि कहिले मेरो संवेदनशील अंगहरू छुने प्रयास गर्नुभयो। जब मैले प्रतिकार गर्न खोजेँ, उहाँले मलाई धम्की दिनुभयो कि कसैलाई भने मेरी प्रतिष्ठा नष्ट हुन्छ।’
पीडित छात्राको दाजुले पनि घटनालाई प्रत्यक्ष देखेको बयान दिएका छन्। पीडितकी ठुलो आमाका छोरा प्रत्यक्षदर्शीका रूपमा रहेका छन्। अभियोग पत्रमा समेटिएको बयानमा उनले भनेका छन् ‘मैले झ्यालबाट हेरिरहेको थिएँ, त्यतिखेर बुद्धिसागर सरले मेरी बहिनीलाई अँगालो हालेर बसेको देखेँ। यो देखेर म एकछिन अवाक् भएँ, त्यसपछि तुरुन्तै बाहिरबाट झ्याल हल्लाएँ। त्यसपछि सरले बहिनीलाई टाढा धकेल्दै हतारमा आफ्नो ठाउँबाट उठेको देखेँ।’
घटनाबारे जानकारी पाएपछि परिवारले प्रहरीमा उजुरी दिएको थियो। आरोपित त्रिपाठीले आफू निर्दोष रहेको दाबी गर्दै यौन दुर्व्यवहार नगरेको दाबी गरेका छन्।
बयानमा उनले भनेका छन् ‘म विद्यार्थीलाई ट्युसन पढाउने मात्रै मान्छे हुँ। कुनै अनुचित कार्य गरेको छैन। त्यो दिन ट्युसन पढाउँदै गर्दा छात्राले आफ्नो मोबाइल चलाइरहेकी थिइन्। जब मैले मोबाइल लिन खोजेँ, त्यसक्रममा हात परे पनि, मैले उनीमाथि कुनै दुर्व्यवहार गरेको छैन।’
कानुनी प्रावधान र सम्भावित सजाय
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ अनुसार, कसैले कुनै बालिकालाई यौन दुर्व्यवहार गरेमा तीन वर्षदेखि पाँच वर्षसम्मको कैद सजाय र आर्थिक जरिवाना हुनसक्छ। साथै, पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रावधान समेत रहेको छ।
फागुन २१, २०८१ बुधबार १९:०४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।