प्रतिनिधि सभाबाट पास भयो पाँच अध्यादेश, भूमि सम्बन्धी अध्यादेश अलपत्र

काठमाडौं : प्रतिनिधि सभाले बुधवार पाँच महत्त्वपूर्ण अध्यादेशहरू पारित गरेको छ। सरकारले जारी गरेको छ मध्ये भूमि सम्बन्धी अध्यादेश भने 'होल्ड' मा छ।
बुधवारको बैठकमा बहुमतको आधारमा सहकारी ऐन संशोधन गर्न बनेको अध्यादेश, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी ऐन संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन सम्बन्धी अध्यादेश, निजीकरण संशोधन अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेश पारित भयो।
सरकारले पुस १४ मा सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी गरेको थियो। त्यसमा सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले असहमति जनाएका थिए।
पुस २९ मा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेशहरू जारी भएका थिए।
प्रतिनिधि सभामा सत्ताधारी दलको बहुमत भएकाले बुधवार पेस भएका सबै विरोधको प्रस्ताव अस्वीकृत भयो। सबै अध्यादेशहरू पारित भए। तर राष्ट्रिय सभामा सत्ताधारी दलको बहुमत छैन। सरकारमा सहयोगी दलहरूमध्ये जनता समाजवादी पार्टीले भूमि सम्बन्धी अध्यादेश बाहेक अन्य अध्यादेशमा समर्थन गर्ने निर्णय गरेको थियो।
त्यही आधारमा अन्य पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गरिएको थियो। भूमि सम्बन्धी अध्यादेश भने होल्डमा राखियो। प्रतिनिधि सभाबाट पास भएका अध्यादेशहरू राष्ट्रिय सभाबाट स्वीकृत हुनुपर्नेछ।
फागुन २१, २०८१ बुधबार १८:४०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।