संसद् सचिवालयलाई पत्रकार महासंघको आग्रह ‘पत्रकार संहिता हेर्ने सचिवालयले हैन काउन्सिलले हो, पास फिर्ता गर्नु’

काठमाडौं : पत्रकार आचार संहिताको अनुगमन गर्ने अधिकार संसद् सचिवालयको नभएको भन्दै नेपाल पत्रकार महासंघले पत्रकारको पास खोस्ने निर्णयको नेपाल पत्रकार महासंघले विरोध गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् परिसरमा प्रश्न सोध्ने शैलीको आधारमा संसद् सचिवालयले दुई पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् अधिवेशनमा सहभागी हुन सचिवालयले जारी गरेको पास निलम्बन गर्ने निर्णय गरेको थियो।
पत्रकारहरूले प्रधानमन्त्रीलाई ‘हिटलर र तानाशाह हुन खोजेको हो?’ भनेर प्रश्न गरेका थिए। संसद् सचिवालयले प्रश्न र प्रश्न सोध्ने शैली पत्रकार आचार संहिता विपरीत रहेको भन्दै दुवै पत्रकारको संसद् प्रवेशको अनुमति पास निलम्बन गर्ने निर्णय गर्दै पास फिर्ता गर्न भनेको थियो।
पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले बुधवार विज्ञप्तिमार्फत पत्रकारले सोधेको प्रश्नको मूल्याङ्कन गर्ने निकाय प्रेस काउन्सिल नेपाल रहेको र संघीय संसद् सचिवालयसँग पत्रकारको पास निलम्बन गर्ने अधिकार नभएको भन्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न र पत्रकारको पास फिर्ता गर्न आग्रह गरिएको छ।
बुधवारको प्रतिनिधि सभाको बैठकमा पनि संसद् सदस्यहरूले पत्रकार संसद् बैठकमा सहभागी हुने पास निलम्बन गर्ने निर्णयको विरोध गरेका थिए।
फागुन २१, २०८१ बुधबार १५:४२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।