सदन बाहिर मात्र होइन, भित्रै सोधियो- ‘प्रधानमन्त्रीज्यू के तपाईं हिटलर बन्दै हो?’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘के तपाईं हिटलर बन्दै हो?’ भनी प्रश्न गरेका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री ओलीलाई यस्तो प्रश्न गरेका हुन्।
खुल्ला मञ्चमा प्रधानमन्त्रीको विरोध गरेको आधारमा युवामाथि कुटपिट भएको र प्रश्न सोधिएको आधारमा दुई जना पत्रकारलाई निलम्बन गरिएको विषयलाई जोड्दै उनले यस्तो प्रश्न गरेका हुन्।
साथै, उनले संसद् निरन्तर सरकारको छायाँमा रहेको आरोप लगाएका छन्।
‘के तपाईं हिटलर हो भनेर प्रश्न सोधेको आधारमा पत्रकारको पास संसदले निलम्बन गरेछ। केही समय पहिले सत्ता पक्षका एक जना सांसदले निर्वाचन जितेर आएको मान्छे पनि हिटलर हुन सक्छ भनी प्रश्न गर्नुभएको थियो? आज निलम्बनको खबर आयो। संसद निरन्तर सत्ताको छाँया बन्दै गएको छ,’ उनले भने,’ अब मेरो पनि प्रश्न प्रधानमन्त्री ज्यू के तपाईं हिटलर बन्दै हो?’
फागुन ३ गते दुई पत्रकारले संसद् भवनबाट प्रधानमन्त्री बाहिर जाँदै गर्दा उनलाई हिटलर प्रवृत्ति देखियो भन्ने आरोप छ नि! भन्दै प्रश्न गर्दा उनीहरूलाई मंगलबार संसद सचिवालयले एक महिनाका लागि निलम्बन गरेको थियो।
फागुन २१, २०८१ बुधबार १४:३१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।