रंगशालामा दर्शक कुटिएको र कुलमानबारे सदनलाई जानकारी दिन सभामुखको रुलिङ

रंगशालामा दर्शक कुटिएको र कुलमानबारे सदनलाई जानकारी दिन सभामुखको रुलिङ

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे संसदमा उठेका प्रश्नहरूबारे जवाफ दिन सरकरालाई रुलिङ गरेका छन्।

आजको बैठकमा आकिस्मक समयमा सांसदहरूले बोलिसकेपछि सभामुखले घिमिरेले उठेका प्रश्नका सम्बन्धमा सरकार र सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराउँदै जानकारी गराउन रुलिङ गरेका हुन्। 

‘आजको बैठकमा सबै प्रतिपक्षीहरूबाट राखिएको विषय तथा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषयहरूको सम्बन्धमा प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५ को उपनियम २ को व्यवस्था बमोजिम उठेका विषयहरूमा सभालाई जानकारी गराउन म सम्बन्धित मन्त्रीहरूलाई निर्देश गर्दछु।’

आजको बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोबारे सरकारसँथ जवाफ माग गरेको थियो।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले विपक्षी दलहरूको तर्फबाट बोल्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिए।

पाण्डले घिसिङले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोमा जवाफका लागि रुलिङ माग गरे।

‘आज स्पष्टीकरण, भोलि स्पष्टीकरण, पर्सि स्पष्टीकरण हुँदैहुँदै अहिले सरकार जसरी लागिरहेको छ यो बारेमा के सोचिएको हो सरकारले के भनेको हो? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। र सभामुखमार्फत सरकारले के भएको हो जान्न चाहन्छु। म रुलिङको माग गर्दछु,’ उनले भने।

त्यसैगरी आकस्मिक समयमै बोलेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उदयपुर सिमेन्टमा ३५ वर्ष काम गरेका कामदारले अवकाश पाएको तीन वर्षसम्म पनि भुक्तानी नपाएको प्रति सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘नेपालको श्रम ऐनमा कसैले अवकाश प्राप्त गरेको १५ दिनभित्र भुक्तानी गर्नुपर्ने भनिएको छ। तर उदयपुर सिमेन्टको हकमा आजभन्दा तीन वर्ष पहिले नै अवकाश पाएका एक सय तीन जनाले अहिलेसम्म कुनै रकम पाएका छैनन्।’

त्यसैगरी अर्का सांसद ज्ञानबहादुर शाहीले केपी ओली कपको फाइनलमा दर्शक कुटिएकोप्रति आपत्ति जनाउँदै एमालेका कार्यकर्ताले बोलेकै आधारमा दर्शक कुटेको र पीडितलाई बचाउनुपर्ने प्रहरीले कुट्न सघाएको आरोप लगाए।

उनले प्रहरी प्रशासनको वास्ता नगर्ने र पार्टीका कार्यकर्ताले मान्छे कुट्ने भए आफूहरू पनि तयार भएर बस्ने बताए।

उनले थपे, ‘खुलुमखुला भन्नुस्– हामी पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो, पुलिस चाहिँदैन भन्नुस् हामी पनि तयार भएर बस्छौँ। तर विधिको शासन खै? आजको वीपी कोइराला र मदन भण्डारीको सपना खै?’

त्ससैगरी, आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सांसद किनबेचको अभिव्यक्तिप्रति सभामुख गम्भीर हुन आवश्यक रहेको बताए।

‘अहिलेको २१ औं शताब्दीमा, आधुनिक युगमा सांसद किनबेच भन्ने कुरा लाजमर्दो छ। सिंगै संसद् अपमानित हुने यो विषयमा सम्माननीय सभामुखज्यू गम्भीर हुन जरुरी छ। सम्मानित संसद् अपमानित हुने गरी यो कुरा सम्प्रेषित भइराख्दा सरकारले यसबारे जवाफ दिन जरुरी छ’, उनले भने।

त्यसैगरी, रास्वपाका सांसद शिशिर खनालले सदन निरन्तर सरकारको छायाँ बनेको टिप्पणी गरे।

उनले भने, ‘केही दिनअघि सत्तापक्षको सांसदले निर्वाचन जितेर आएको मान्छे पनि हिटलर हुन सक्छ? र भनेर प्रश्न सोध्नुभएको थियो। संसद सचिवालयलाई सचेत गराउनुभएको थियो। आज निलम्बनको खबर आयो।’

उनले १९३० को जर्मनीको इतिहास पढ्न आग्रह गर्दै हिटलर बन्दूकको नालबाट नभएर चुनाव जितेरै आएको बताए। उनले प्रधानमन्त्रीविरुद्ध बोल्छ कहिले मान्छे कुट्ने कहिले जेल हालेकोप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीलाई तपाईं हिटलर बन्दै हो? भनेर प्रश्न गरे।

यसका साथै अन्य प्रतिपक्षी दलका सांसदहरूले पनि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका आलावा अन्य साना दलले पनि कुलमानलाई हटाउने प्रपन्च रचिएको आरोप लगाए।

फागुन २१, २०८१ बुधबार १४:२४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।