रंगशालामा दर्शक कुटिएपछि सांसद शाहीले भने- ‘पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो भने हामी पनि तयार भएर बस्छौँ’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानबहादुर शाहीले केपी ओली कपको फाइनलमा दर्शक कुटिएकोप्रति आपत्ति जनाएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले प्रधानमन्त्री ओलीको पार्टी एमालेका कार्यकर्ताले बोलेकै आधारमा दर्शक कुटेको र पीडितलाई बचाउनुपर्ने प्रहरीले कुट्न सघाएको आरोप लगाए।
उनले भने, ‘रंगशालामा फागुन १९ गते भएको केपी ओली कपको फाइनलमा दर्शक दीर्घामा बसेका मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका गुन्डाहरुले मान्छे कुट्ने, प्रहरी पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने। वाह वाह गृहमन्त्रीज्यू, वाह वाह प्रधानमन्त्रीज्यू। यो तम्रो कस्तो लोकतन्त्र?’
उनले प्रहरी प्रशासनको वास्ता नगर्ने र पार्टीका कार्यकर्ताले मान्छे कुट्ने भए आफूहरु पनि तयार भएर बस्ने बताए।
उनले थपे, ‘खुलुमखुला भन्नुस्- हामी पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो, पुलिस चाहिँदैन भन्नुस् हामी पनि तयार भएर बस्छौँ। तर विधिको शासन खै? आजको वीपी कोइराला र मदन भण्डारीको सपना खै?’
सांसद शाहीले पार्टीका कार्यकर्ता र गुन्डा प्रयोग गरेर दर्शक दीर्घामा रहेका मान्छे कुट्नेलाई पक्राउ गरेर कारबाही गर्न समेत माग गरे।
उनले अगाडि भने, ‘पक्राउ गरियोस् होइन भने सडक र सदनबाट यसको अवाज खरो रुपमा उठ्नेछ।’
फागुन २१, २०८१ बुधबार १३:५५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।