कानुनी लडाइँमा उदित नारायणको पहिलो श्रीमती रञ्जना, अदालतमा मुद्दा, भरण पोषणको माग

काठमाडौँ : पछिल्लो समयमा कन्सर्टमा महिला फ्यानमाथि गरेको व्यवहारले विवादमा तानिएका गायक उदित नारायण झा पारिवारिक विवादमा तानिएका छन्।
उनले दुई विवाह गरेका छन् तर लुकाउँदै आएका छन्। तर उनको पहिलो श्रीमती रञ्जना नारायण झा हुन्। उनले सम्बन्ध विच्छेद समेत नगरी दीपा झासँग विवाह गरेर मुम्बईमा बस्दै आएका छन्।
लामो समयदेखि उदितको पहिलो श्रीमती मौन रहँदै आएकी थिइन्। तर अब उनी आफैँ कानुनी लडाइमा सक्रिय भएकी छिन्। रञ्जनाले उदित विरुद्ध बिहारको फेमिली कोर्टमा भरषपोषण र श्रीमान् उदितसँगै बस्न पाउँ भन्दै निवेदन दिएकी छिन्।
रञ्जना यस अगाडि महिला आयोगमा समेत गएकी थिइन्। महिला आयोगमा गएपछि मासिक १५ हजार रुपैयाँ उदितबाट पाउने गरेको तर अहिले आफू वृद्ध अवस्थामा पुगेकाले हेरचाह र भरण पोषण चाहिएको भन्दै उनी उदित विरुद्ध अदालत गएकी हुन्।
तोकिएको समयमा उपस्थित नभएको भन्दै अदालतले उदितलाई १० रुपैयाँ जरिवाना गरेपछि उनी अदालतमा उपस्थित भए। रञ्जनाले पैसाका लागि आफूलाई ब्याल्कमेल गर्ने गरेको, घर, जग्गा र गहना समेत दिएको, जग्गा बेचेको र घर भाडामा लगाएको दाबी गरेको भारतीय सञ्चार माध्मयहरुले सार्वजनिक गरेका छन्।
उता रञ्जनाले भने जग्गा र घर बेचेको पैसा उदित आफैँले लगेको र आफूलाई महिला आयोग अनि अदालत नजान धम्की दिने गरेको दाबी गरेकी छिन्।
उदितको नेपाल सम्बन्ध
उदित सप्तरीको भारदहका स्थानीय हुन्। भारदहमा अहिले पनि उनको पारिवारिक सदस्य छन्। जब उनी बलिउडमा सफल गायक भए त्यसयता उनले आफ्नो हजुर बा र बुबा नेपालको भए पनि आफू भने भारतको बिहारमा जन्मिएको र भारतीय नागरिकै भएको बताउने गरेका छन्।
रञ्जनाको हालै सार्वजनिक भएको अन्तर्वार्तामा उनले आफू विहारको भएको र उदित नेपालको भएको बताएकी छिन्। उदितसँग मागी विवाह भएपछि आफू नेपालमा गएर बसेको र आफ्नो घर नेपाल र माइती भारत रहेको उनले बताएकी छिन्।
पहिलो विवाह सधैँ लुकाए
काठमाडौँ आएर गायनमा सङ्घर्ष सुरु गरेका उदित सफल भए। नेपाली फिल्मी गीतहरूमा उनी हिट भए। एक फिल्म समेत अभिनय गरे। त्यसपछि उनी बलिउडमा गए र सफल गायक भए।
उनले श्रीमतीको रूपमा सधैँ दीपा झालाई सार्वजनिक गरिरहे। तर उनी दोस्रो श्रीमती थिइन्। छोरा आदित्य दीपातर्फका सन्तान हुन्। उदितको यो दोस्रो विवाह रहेकोबारे नेपालमा बेलाबखत समाचार प्रकाशित हुने गरे पनि उनको पहिलो श्रीमती लामो समय मौन रहिन्।
रञ्जनाका अनुसार उनीहरुबीच १९८४ मा मागी विवाह भएको थियो। जब उनी मुम्बई गएर सफल भए अनि दीपासँग विवाह गरेपछि उनलाई वास्ता गर्न छाडे।
रञ्जना पहिला बिहारको महिला आयोगमा गएकी थिइन्। आयोगमा भरण पोषणका लागि महिलाको २५ हजार दिने गरेको उनले बताएकी छिन्।
उनले आफू शारीरिक रूपमा पनि कमजोर रहेको र हेरचाहका लागि उदितसँगै मुम्बईमा बस्न माग गरिन्। श्रीमानबाट हेरचाहको माग समेत गरिन्। उदितले वास्ता नगरेको भन्दै उनी एक पटक उदित खोज्नै उनको कार्यक्रममा पुगेपछि उदित त्यहाँबाट भागेको घटना निकै चर्चामा आएको थियो।
उनका अनुसार उदित मुम्बईमा फ्लाइट किन्न राजी पनि भएका थिए। तर पछिल्लो समय वास्तै नगरेपछि उनी सन् २०२२ मा भारत बिहारको सुपौलमा रहेको पारिवारिक अदालतमा मुद्दा दायर गरिन्। अहिले त्यही मुद्दामा सुनुवाइ अगाडि बढेको हो।
फागुन २१, २०८१ बुधबार १३:००:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।