ओलीलाई ‘हिटलर प्रवृत्तिमा जाँदैछ सरकार?’ भनेर प्रश्न गर्ने दुई पत्रकार निलम्बित

काठमाडौं : संघीय संसद सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तानाशाही प्रवृत्ति किन होला प्रधानमन्त्रीज्यू?’ भनेर प्रश्न सोधेको भन्दै संघीय संसदको महासचिवस्तरीय निर्णयबाट पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरिएको हो।
संसद सचिवालयले पत्रकारलाई रिर्पोटिङका लागि प्रवेश पास उपलब्ध गराउने गर्दछ। वली र श्रेष्ठको पास एक महिनाका लागि निलम्बन गरिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
उनले भने, ‘पत्रकार आचारसंहिता, कार्यविधि र पालन गर्नुपर्ने नियम उल्लघंन गरेकाले संसद सचिवालयको कार्ड एक महिनाका लागि निलम्बन गरिएको हो।’
गत फागुन ४ गते प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै गरेका प्रधानमन्त्री ओलीलाई दुईमध्येका एक पत्रकारले ‘ओली सरकार भ्रष्टाचारीलाई जोगाउन लागेको छ भन्ने आरोप छ नि प्रधानमन्त्रीज्यू,’ भन्ने प्रश्न गरेका थिए।
जसको जवाफमा ओलीले ‘त्यो आरोप सुन्दा राम्रो लाग्यो हैन?’ भनेर प्रतिप्रश्न गरे।
त्यसपछि सोही पत्रकारले ‘त्यस्तै देखिन्त त! बाँसबारी...’ ओलीले लगत्तै प्रतिवाद गर्दै सोधे, ‘त्यस्तै देखियो?’ जवाफमा सञ्चारकर्मीले भने, ‘त्यस्तै देखिन्छ प्रधानमन्त्रीज्यू।’
त्यत्तिकैमा अर्का पत्रकारले ‘हिटलर प्रवृत्तिमा जाँदैछ सरकार?’ भनेर सोध्छन् भने त्यसपछि ‘तानाशाही प्रवृत्ति किन होला प्रधानमन्त्रीज्यू। जवाफ त दिएर जानुस्।’ भन्छन्।
त्यसपछि अर्की पत्रकारले ‘प्रभु शाह माननीयको जवाफ किन नदिनुभएको?’ भनेर प्रश्न गर्दा उनी सुनेको नसुन्यै गरेर गाडी चढेका थिए।
फागुन २१, २०८१ बुधबार ११:३१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।