अवैध नेपाली आप्रवासी लिएर काठमाडौं उत्रियो अमेरिकी चार्टर जहाज

अवैध नेपाली आप्रवासी लिएर काठमाडौं उत्रियो अमेरिकी चार्टर जहाज

काठमाडौं : अवैध रूपमा अमेरिकामा बस्दै आएका नेपालीलाई लिएर आएको चार्टर जहाज काठमाडौंमा अवतरण गरेको छ।

अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीहरूलाई लिएर आएको अमेरिकी जीआरपी-२३ चार्टर जहाज आज बिहान ९:५५ बजे काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा अवतरण भएको हो।

निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए।

अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलो पटक चार्टर जहाज काठमाडौं आएको हो। जहाजमा आठ पुरुष र एक महिला गरेर नौ जना आएका छन्।

अमेरिकामा डोनाल्ड ट्रम्पले गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति उनी आक्रामक बनेका छन्। त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ।

यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई)ले अवैध नेपालीहरूलाई विभिन्न एयरलायन्सबाट नेपाल फर्काउने गरेको थियो।

फागुन २१, २०८१ बुधबार ११:०३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।