सर्बियाको संसदमा विपक्षीद्वारा ग्रिनेड प्रहार गर्दा दुई सांसद घाइते, एक जनाको अवस्था गम्भीर

एजेन्सी : युरोपेली देश सर्बियाको संसदमा मंगलबार विपक्षी सांसदहरूले धुवाँयुक्त ग्रेनेड प्रहार गरेका छन्।
सरकारको नीतिको विरोधमा र आन्दोलनरत विद्यार्थीहरूको समर्थनमा विपक्षीहरूले यो प्रदर्शन गरेका हुन्।
सर्बियाली प्रोग्रेसिभ पार्टीको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले अधिवेशनको एजेन्डा अनुमोदन गर्ने बित्तिकै केही विपक्षी नेताहरू आफ्नो सिटबाट उठेर सभामुखको कुर्सीतिर दौडे।
उनले सदनमा धुवाँ ग्रेनेड फ्याँके, जसले गर्दा सदन कालो धुवाँले भरियो। यस क्रममा उनको सुरक्षा गार्डहरूसँग झडपको स्थिति समेत आएको थियो।
यस आक्रमणमा दुई सांसद घाइते भएका छन्, जसमध्ये एक सांसदको अवस्था गम्भीर छ। यति हुँदा पनि सभामुख आना ब्रनाबिकले संसदले आफ्नो काम जारी राख्ने बताइन्।
संसदमा मंगलबार देशका विश्वविद्यालयहरूको लागि कोष बढाउने कानून पारित गर्ने तय भएको थियो। यससँगै प्रधानमन्त्री मिलोस भुसेभिकको राजीनामाको बारेमा पनि छलफल हुने तय भएको थियो।
तर सत्तारुढ गठबन्धनले प्रस्तुत गरेको एजेन्डामा रहेका अन्य मुद्दाहरूप्रति विपक्षीहरू आक्रोशित भएपछि यो हंगामा भएको थियो।
फागुन २१, २०८१ बुधबार १०:०७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।