प्रतिनिधि सभा बैठक आज, पाँच अध्यादेश स्वीकृतिका लागि पेश हुँदै

प्रतिनिधि सभा बैठक आज, पाँच अध्यादेश स्वीकृतिका लागि पेश हुँदै

काठमाडौं : प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ।

दिउँसो १ बजे संघीय संसद् भवनमा बस्ने बैठकमा पाँच अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेश हुने भएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबारको बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेश गर्ने कार्यसूची तय गरेको हो।

‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश, २०८१’ समेत स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय भएको छ।

अध्यादेश पेश हुने कार्यसूची तय भएसँगै कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई अनिवार्य बैठकमा उपस्थित हुन ह्विप जारी गरेको छ। सत्ताधारी अन्य सहयोगी दलले पनि पाँच अध्यादेशमा असहमति जनाएका छैनन्।

सरकारले छ वटा अध्यादेश ल्याए पनि जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले विपक्षमा देखिएपछि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ भने सरकारले नै रोक्यो।

माघ २४ गतेको प्रतिनिधिसभाको बैठकको अध्यादेश पेश गर्ने प्रस्ताव कार्यसूचीमा चढाएर पनि स्थगित गरिएको थियो। 

फागुन २१, २०८१ बुधबार ०७:४४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।