कोशी अस्पतालका रेडियोग्राफर चौधरीको प्रमाणपत्र नक्कली भएको आरोपमा विशेष अदालतमा मुद्दा दायर

कोशी अस्पतालका रेडियोग्राफर चौधरीको प्रमाणपत्र नक्कली भएको आरोपमा विशेष अदालतमा मुद्दा दायर

काठमाडौंः मोरङको विराटनगरस्थित कोशी अस्पतालका रेडियोग्राफर जितेन चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ।

मङ्गलवार आयोगले झुटो शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी अस्पतालमा लाभ प्राप्त गरेको दाबीसहित चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९’ अनुसार कैद र जरिवानाको मागदाबी सहित अभियोग पत्र दायर गरेको हो।

अख्तियारले चौधरीको बीएस्सी तहको शैक्षिक योग्यताको प्रमाणपत्र झुटो रहेको उजुरीमा अनुसन्धान हुँदा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सदस्य हुन राजिभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको बीएस्सी एमआइटी, रजिष्टर नम्बर ‘०९इ१९५८, पीडीसी-डिग्रि सर्टिफिकेट नम्बर ‘०१४७२९४’ को झुटो शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको दाबी गरेको छ।

चौधरीले झुटो शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी कोशी अस्पतालमा रेडियोग्राफर पदमा २०७२ माघ एक गते नियुक्ति लिएर ओहोदा, लाभ र सुविधा प्राप्त गरेको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ।

फागुन २०, २०८१ मंगलबार २३:१३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।