स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न जरुरी छ : राष्ट्रपति

स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न जरुरी छ : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए।

नेपाल चिकित्सक सङ्घले मङ्गलवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘संविधानको भावना र मर्मलाई आत्मसातगर्दै चिकित्सकहरूले पेसालाई सेवा भावको दृष्टिकोणले हेर्नु हुनेछ भन्ने पनि विश्वास लिएको छु।’

राष्ट्रपति पौडेलले देशका दूर दराजमा अझै नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको भन्दै यो अवस्थालाई गम्भीरतापूर्वक लिएर देशका कुना, कुनामा दक्ष र विज्ञ चिकित्सकहरूको सेवा पुर्याउन आवश्यक रहेको बताए।

‘आजको यस विशेष अवसरमा सबैलाई आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन म आह्वान पनि गर्दछु,’उनले भने।

राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य शिक्षा अब्बल हुँदै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु सुखद पक्ष भएको भन्दै नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको आफैँले अनुभव गरेको उल्लेख गरे।

उनले स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू विदेशिनेक्रम बढ्नु चिन्ताको विषय भएको बताए।

देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि नेपाल चिकित्सक सङ्घको भूमिका प्रभावकारी हुने राष्ट्रपति पौडेलको बताए।

कार्यक्रममा ‘लिजेन्ड ईन मेडिसिन’बाट डा.गौरीशङ्कर लाल दास, डा. मृग्रेन्द्रराज पाण्डे, डा. दिनेशनाथ गंगोल, डा. डिबि कार्की र डा. सरस्वती पाध्येयलाई  राष्ट्रपति पौडेलले सम्मान गरे।

त्यसैगरी नेपाल चिकित्सक संघमा स्थापनाकालदेखि हालसम्म भएका ३२ जना अध्यक्षहरूको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ पनि राष्ट्रपति पौडेलले विमोचन गरे।

फागुन २०, २०८१ मंगलबार २३:०५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।