भूमि बाहेकका पाँच अध्यादेश बुधवार संसद्मा पेस हुँदै, कांग्रेस-एमालेको ह्विप

काठमाडौँ : बुधवार मध्याह्न १ बजे बस्ने प्रतिनिधिसभामा पाँच अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएपछि सत्ताधारी दल नेपाली कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई उपस्थित हुन ह्विप जारी गरेको छ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबारको बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो।
‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश, २०८१’ समेत स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय भएको छ।
अध्यादेश पेस हुने कार्यसूची तय भएसँगै कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको हो। सत्ताधारी अन्य सहयोगी दलले पनि पाँच अध्यादेशमा असहमति जनाएका छैनन्।
सरकारले छ वटा अध्यादेश ल्याए पनि जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले विपक्षमा देखिएपछि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ भने सरकारले नै रोक्यो।
माघ २४ गतेको प्रतिनिधिसभाको बैठकको अध्यादेश पेस गर्ने प्रस्ताव कार्यसूचीमा चढाएर पनि स्थगित गरिएको थियो।
फागुन २०, २०८१ मंगलबार २२:४३:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।