राष्ट्रिय आविष्कार केन्द्रले २३ लाखमा मर्मत गर्यो संघीय अस्पतालमा थन्किएका पाँच सय उपकरण

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत सम्पन्न गरेको छ।
गत भदौ १८ गते स्वास्थ्य मन्त्रालयले बिग्रिए पनि मर्मत अभावमा थन्किएका १७ वटै संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गरेको थियो।
६ सय ६१ वटा उपकरणको मूल्याङ्कन गरिएकामा पाँच सय मर्मत सम्पन्न भएको केन्द्रका इञ्जिनियर उमेश किरातीले जानकारी दिए। केन्द्रले २३ लाख २० हजार रुपैयाँमा ती सामग्री मर्मत सम्पन्न गरेको हो।
‘हामीले बजार मूल्य सर्वेक्षण गर्दा नेपालमा बजार मूल्य २४ करोड ३० लाख लाग्ने जानकारी पाएका छौँ’, उनले भने, ‘केन्द्रले जिम्मा पाएपछि सरकारको निकै न्यून खर्चमा ती उपकरणको मर्मत भएको छ। बाँकी अस्पतालबाट पनि आग्रह आएमा उपकरण मर्मत गर्न हामी तयार छौँ।’
केन्द्रले गरेको मर्मतमा सामान्य तार जोड्ने देखि थप सामग्री मगाएर गरिएका जटिल मर्मत पनि छन्।
‘कतिपय अस्पतालमा तारसम्म मर्मत नगरेर राखिएका उपकरण पनि भेटियो,’ उनले भने, ‘ती सबैको मर्मत भएको छ।’
फागुन २०, २०८१ मंगलबार १३:४१:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।