थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न दिल्लीबाट मन्त्रीको निर्देशन

थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न दिल्लीबाट मन्त्रीको निर्देशन

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंस्थित थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्ची खानेपानीको मुख्य पाइप लाइन तत्काल मर्मत गरी पानी सुचारु गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

मेलम्चीको पाइप फुटेर थापाथलीमा क्षति भएको खबर पाउना साथ दिल्लीमा रहेका मन्त्री यादवले फुटेको पाइप तत्काल मर्मत गरी नागरिकलाई शुद्ध पानी वितरण गर्न निर्देशन दिएका हुन्।

मन्त्री यादवले भन्नुभयो, ‘हाल म नेपाल र भारत सरकारबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गर्न नयाँ दिल्लीमा छु। तथापि, मैले सम्बन्धित निकायलाई तत्काल पाइप मर्मत गरी मेलम्चीको पानी सुचारु गर्न निर्देशन दिइसकेको छु।’

यसैगरी मन्त्री यादवले पाइप फुटेको घटनाको विषयमा छानबिन गरिने समेत बताएका छन्।

उनले भने, ‘थापाथली चोकबाट नर्भिक इन्टरनेशनल अस्पताल जाने सडकमा पाइप फुट्दा सर्वसाधारणलाई परेको असुविधाप्रति म गहिरो दु:ख व्यक्त गर्दछु। सो घटनाका विषयमा छानबिन गर्छौँ।’

मन्त्री यादवको निर्देशन पश्चात अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले मर्मत कार्य तीव्र रूपमा अघि बढाइ आजै पानी वितरण गरिने मन्त्रालयले जनाएको छ।

फागुन २०, २०८१ मंगलबार १३:०२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।