‘वरिष्ठ बलराम’ले रोक्ला सुरेन्द्रको फ्लप निर्देशकीय यात्रा?

काठमाडौं : भारतमा भिडियो इडिटिङको काम सम्हालेका सुरेन्द्र पौडेलले एक दशकअघि फिल्म ‘आभाष’मार्फत नेपाली फिल्म क्षेत्र निर्देशकीय रुपमा डेब्यु गरे।
संयम पुरी, आश्मा डिसी, प्रकृति श्रेष्ठ, निशा अधिकारी, सलोन बस्नेतलाई लिएर बनाएको उनको फिल्मले हलमा जादु देखाउन सकेन।
त्यसपछि उनले महंगा नायक अनमोल केसी र भारतमा मोडलिङ गरिरहेकी नायिका अदिती बुढाथोकीलाई लिएर फिल्म ‘कृ’ निर्देशन गरे। फिल्मको चर्चा व्यापक भए पनि व्यापार भने भएन। हलबाटै फिल्मले लगानी समेत उठाउन सकेन।
त्यसपछि पनि उनले चकलेटी नायक धिरज मगर र नायिका बुढाथोकीलाई नै लिएर लभस्टोरी फिल्म ‘बाबरी’ बनाए। सो फिल्म पनि बक्स अफिसमा फ्लप नै साबित भयो। डेब्युदेखि लगातार तीन फिल्म फ्लप भइरहँदा निर्देशक पौडेलले नयाँ फिल्म ल्याउँदैछन्।
पौडेलले आइतबार नयाँ फिल्म ‘वरिष्ठ बलराम’को शुभ साइत गरेर छायांकन थालेका छन्। पौडेलकै कथा रहेको फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतका कलाकारहरू छन्।
आशिष एच तामाङ र श्रीराज कार्की फिल्मको लगानीकर्ता रहेको यो फिल्ममा निर्देशक पौडेलकै सम्पादन रहने छ। महेश दवाडीको लेखन रहेको फिल्म अर्को वर्ष लक्ष्मीपूजाको दिन रिलिज गर्ने घोषणा गरिएको छ।
लगातार तीन फिल्म फ्लप भइरहँदा निर्देशक पौडेलले यो फिल्मबाट ठूलो आशा राखेका छन्। यो फिल्ममा उनले आफ्नो निर्देशकीय क्षमताबाट हलसम्म दर्शक तान्न सक्लान् त, त्यसका लागि भने अर्को साल लक्ष्मीपूजासम्म पर्खनै पर्छ।
फागुन २०, २०८१ मंगलबार ११:१९:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।