हेलिकप्टर चढेर तुलसीपुर जाने प्रचार गरे पनि जान पाएनन् दुर्गेश, फ्यान ‘हेरेको हेर्यै’*

हेलिकप्टर चढेर तुलसीपुर जाने प्रचार गरे पनि जान पाएनन् दुर्गेश, फ्यान ‘हेरेको हेर्यै’*

काठमाडौं : आफूलाई पफर्मर भन्दै आएका गायक दुर्गेश थापाको व्यवस्था आजकल खुब बढेको छ। ‘दुस्मन हेरेको हेर्यै’ बोलको गीत सार्वजनिक भएपछि बढेको उनको व्यस्तताले देशभरका महोत्सवमा पुगिरहेका छन्।

देशभरका विभिन्न स्थानमा भएका मेला तथा महोत्सवमा आजकल उनी पुग्ने गरेका छन्। एकै दिन धेरैतिरको कार्यक्रम लिँदा उनले हेलिकप्टर नै भाडामा लिनुपर्ने अवस्था आएको छ।

सोही क्रममा उनले सोमबार हेलिकप्टर लिएर दाङको तुलसीपुर आउने भनेर प्रचार गरियो। दुर्गेश आफैँले पनि फागुन १७ गते विहान सामाजिक सञ्जालमार्फत आफू हेलिकप्टर लिएर फागुन १८ गते आउन लागेको पोस्टर राखे।

१७ गते अपरान्ह गायिका ज्योति मगरले ​​​​​दुर्गेशलाई लक्षित गर्दै एउटा स्टाटस लेखिन्। स्टाटसमा उनले तुलसीपुर महोत्सवमा चर्चित कलाकार दुर्गेश थापा भाइको हेलिकप्टर उड्यो कि उडेन भन्दै व्यङ्ग्य गरेकी थिइन्।

उनले लेखेकी थिइन्, ‘आज दाङको तुलसीपुर महोत्सवमा चर्चित कलाकार दुर्गेश थापा भाइको हेलिकप्टर उड्यो कि उडेन??? हल्लाखल्ला सुनिएन त कतै...कमेन्टमा खबर गरुम त दङ्गाली सञ्चारमाध्यमहरू। दुस्मन हेरेको हेरेइ होइन दुस्मन पर्खेको पर्खेइ थिय रे भन्ने हल्ला पो आयो त कता कता।’

१७ गते साँझ ज्योतिको स्टाटस आउनुअघि नै  तुलसीपुरमा स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै महोत्सव नहुने बताएपछि उनी तुलसीपुर जानै पाएनन्। त्यसका लागि दुर्गेशले ज्योति मगर र अन्य ‘साथीहरू’लाई कारक मानेका छन्।

उनले सञ्जालमा लेखेका छन्, ‘म दाङका दर्शक भगवानको दर्शन गर्न, मनभरि माया साट्न र आफ्ना प्रस्तुति मार्फत मनोरञ्जन दिन अत्यन्त उत्साहित थिएँ। तर एउटा दुर्भाग्यपूर्ण मोड आयो। अचानक महोत्सव हुन नदिने निर्णयको खबर फैलियो।’

नाबालिग बलात्कार मुद्दामा पल शाह जेल परेपछि दुर्गेश थापासँगको सम्बन्धमा दरार आएको थियो। सो मुद्दापछि पलका समर्थकले उक्त नाबालिग कलाकारसहित दुर्गेशलाई पनि विभिन्न मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रममा दुर्व्यवहार गर्ने गरेका छन्।

दुर्गेशले आफ्नो कार्यक्रम रोकिनु केही कलाकारको स्वार्थ र राजनीतिक चलखेल भएको आरोप सामाजिक सञ्जालमार्फत लगाएका छन्।

​​​​​‘केही कलाकारहरूको स्वार्थी सोच,राजनीतिक चलखेल र नियोजित रणनीतिले मलाई महोत्सवमा दर्शकहरू माझ उपस्थित हुन दिएन,’ उनले थप लेखेका छन्, ‘यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो। केही व्यक्तिहरू कलाकारिता भन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन्। कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेना भनेर लेख्न भ्याउनु भएछ। उहाँलाई मेरो बधाई! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो।’

उनले आफूलाई कार्यक्रम गर्न नदिँदा सफल भएता पनि दाङका दर्शकहरूको माया, स्नेह र आशिर्वाद कसैले पनि  मेटाउन नसक्ने दाबी गरेका छन्।

‘नेपालका मेलाहरुमा मेरो ना काट्न लागिपरेका आदरणीय दिदी तथा मित्रहरू, हजुरहरु मेरो नाक काट्दै जानुस्, म मेरो नामको ब्रान्ड बनाउँदै जान्छु।’

(*तथ्यगत त्रुटी भएकाले हेडलाइन परिवर्तन गरिएको- सम्पादक)

फागुन २०, २०८१ मंगलबार १०:५५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।