हिमालय एअरलाइन्स्ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्ने

काठमाडौं : हिमालय एअरलाइन्स्ले पोखरालाई ल्हासासँग जोड्न हप्ताम एक उडान गर्ने भएको छ। कम्पनीले मार्च ३१ तारिखबाट काठमाडौं-ल्हासा-पोखरा-ल्हासा-काठमाडौं उडान सुरु गर्ने विज्ञप्तिमार्फत जानकारी गराएको छ।
प्रारम्भिक योजनाअनुसार काठमाडौं-ल्हासा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१, २०२५ मा बिहान ८ः३० बजे उडान भर्ने र सोही दिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्नेछ।
त्यसैगरी, ल्हासा-पोखरा उडानले ल्हासा गोङ्गर विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१, २०२५ मा १३ः१५ बजे उडान भर्ने र सोही दिन नेपाली स्थानीय समयअनुसार १२ः४५ मा पोखरा अवतरण गर्नेछ।
यसैगरी, पोखरा-ल्हासा उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल ०१, २०२५ मा स्थानीय समयअनुसार बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्नेछ।
ल्हासा-काठमाडौं उडानले ल्हासा गोङ्गर विमानस्थलबाट अप्रिल ०१, २०२५, मा स्थानीय समयअनुसार १२ः३० मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार १२ः०५ मा काठमाडौं अवतरण गर्नेछ।
‘नयाँ रुटको उडानमार्फत हिमालय एअरलाइन्स्ले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘जुन एअरलाइन्स्का लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा हुनेछ।’
हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवं प्रवक्ता विजय श्रेष्ठले नयाँ सुरु हुन लागेकोे रुटप्रति उत्साह व्यक्त गर्दै आफूहरुले चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने योजना बनाएको बताए।
फागुन २०, २०८१ मंगलबार ०९:१०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।