आवासीय चिकित्सकमाथि मानसिक यातना दिएको आरोपमा धुलिखेल अस्पतालका चार चिकित्सक निलम्बित, काउन्सिलले बयान लियो

काठमाडौँ : काठमाडौँ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेस (धुलिखेल अस्पताल)को मानसिक रोग विभागमा अध्ययनरत एक आवासीय चिकित्सकलाई मानसिक तनाव दिएर आत्महत्याको प्रयासको चरणमा पूर्याएको आरोपमा चार चिकित्सक निलम्बित भएका छन्।
उनीहरूमाथि नेपाल मेडिकल काउन्सिलले बयान समेत लिइसकेको छ। अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयासको घटनाको विषयमा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेस (धुलिखेल अस्पताल)को मानसिक रोग विभागका प्रमुख डा. अजय रिसाल, सोही विभागका डा. दीपक कुँवर, डा. वर्षा श्रेष्ठ र डा. रिका रिजालसहित चार जना चिकित्सकलाई गत बुधवार एक हप्ता निलम्बन गर्दै काउन्सिलले बयानका लागि बोलाएको थियो।
काउन्सिलको व्यावसायिक आचरण समितिले यी चार चिकित्सकको बयान लिएको काउन्सिलका रजिस्ट्रार तथा प्रवक्ता डा. सतिश कुमार देवले उकेरालाई जानकारी दिए।
काउन्सिलको व्यावसायिक आचरण समितिका संयोजक डा. विश्वराज दवाडी, सहसंयोजक डा. कुन्जाङ शेर्पा र सदस्यहरू डा. आनन्दकुमार शर्मा, डा. रूपक बीके घिमिरे र राजेश्वर अधिकारीको पाँच सदस्यीय समितिले बयान लिएको थियो।
आरोपित र पीडित गरी दुवै पक्षको बयान लिने लगायत अध्ययन तथा अनुसन्धानको काम गरेपछि घटनाको विषय समितिले काउन्सिलको पूर्ण बैठकमा प्रस्तुत गर्नेछ। त्यसपछि काउन्सिलको पूर्ण बैठकले छलफल गरेर कार्वाहीका विषयमा निर्णय गर्छ।
स्रोतका अनुसार आइतबारसम्ममा दुवै पक्षको बयान लिने काम भइसकेको छ। कार्वाहीबारे निर्णय भएको छैन।
‘अनुसन्धानको प्रक्रिया अगाडी बढिरहेको छ,’स्रोतले भन्यो,‘सबैको बयान लिइयो।’ व्यावसायिक आचरण समितिले थप अनुसन्धानको काम टुङ्ग्याएर केही दिनमा नै यो विषय काउन्सिलको पूर्ण बैठकमा प्रस्तुत गर्ने तयारी भइरहेको स्रोतले जानकारी दियो।
यी चारै जना चिकित्सकलाई काउन्सिलको पूर्ण बैठकले एक हप्ताका लागि निलम्बन गरेको थियो। काउन्सिलको बैठकले यी चार चिकित्सकलाई एक हप्ता काम नगर्न र नगराउनका लागि काठमाडौँ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेस् र धुलिखेल अस्पताललाई पत्रको बोधार्थ समेत पठाइसकेको छ।
आवासीय चिकित्सकले औषधीको ओभरडोज खाएपछि उनलाई मानसिक यातना दिएको खुलेको थियो। लामो समयसम्म यो घटना गुपचुपै रह्यो। सामाजिक सञ्जाल टिकटकबाट घटना सार्वजनिक भएको लामै समयपछि मात्रै अस्पताल प्रशासन यस घटनाबारे बोलेको थियो।
त्यही विषयमा काउन्सिलमा उजुरी परेको थियो। उजुरीपछि सो विषयको छानबिनका लागि काउन्सिलले सदस्यद्धय डा. कालुसिंह खत्री र डा. प्रनयरत्न शाक्यलाई जिम्मेवारी दिएको थियो। घटनाको विषयमा अध्ययनपछि काउन्सिलले अस्पतालका चार जना चिकित्सकलाई निलम्बन गरेको हो।
काउन्सिलको बुधवार बसेको बैठकले यी चार चिकित्सकलाई बयानका लागि तीन दिनभित्र आइतबार उपस्थित हुनेगरी काउन्सिलमा बोलाइएको थियो।
काउन्सिलको बुधवार बसेको बैठकले निलम्बनको निर्णय गरे पनि त्यो निर्णयको परिपक्व हुनुपर्ने प्रावधान अनुसार निर्णय परिपक्व भएपछि शुक्रवार निलम्बनको पत्र पठाइएको काउन्सिलले जानकारी दियो।
फागुन १९, २०८१ सोमबार १८:२४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।