दूधको मूल्य : सरकारले तोकेको ६५ रुपैयाँ पनि दिँदैनन् व्यापारी, मारमा सधैँ किसान

चितवन : दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन्। भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो।
निजी डेरीहरूले कम मूल्यमा दूध लैजाने गरेको उनीहरूको भनाइ छ। विकल्प नहुँदा सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसान बताउँछन्।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले राज्यले चार फ्याट र आठ एसएनएफ भएको दूधलाई कार्यालय सञ्चालन मूल्य बाहेक ६५ रुपैयाँ प्रतिलिटर तोकेकोमा उनीहरूले यस मूल्यमा तीन रुपैयाँ कम गरेर लैजाने गरेको जानकारी दिए।
उनले भने, ‘दूधको आयात नरोकिँदा उनीहरूले दूध नलैजाने धम्की दिँदै मूल्य घटाउने गरेका छन्।’
अहिले दूध र दुग्धजन्य पदार्थ आयात हुँदा सस्तोमा पाउने भएकाले नेपाली किसान मर्कामा परेका हुन। जिल्लामा रहेका एकसय १५ वटा दुग्ध उत्पादक सहकारी संस्थाबाट देशका ४० भन्दा बढी ठूला दुग्ध उत्पादक कम्पनीले दूध लाने गरेको भए पनि राज्यले तोकेको मूल्य भन्दा कममा दूध बेच्न बाध्य भएको उनले बताए।
जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिरका उद्योगले खपत गर्ने गरेका छन्।
विगत ६ महिनादेखिको दूधको भुक्तानी नपाएका किसानलाई आफूले भनेको मूल्यामा दूध नपाए भोलिबाट दूध लिन आउँदिन भन्ने गरेको उनले बताए।
भुक्तानी माग्दा दूध लिन नआउने डरमा किसान रहेको उनको भनाइ छ। अहिले जिल्लाका किसानले ८० करोड रुपैयाँभन्दा बढी भुक्तानी पाउन सकेका छैनन्।
फागुन १९, २०८१ सोमबार ०९:४५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।