हिमपातले अवरुद्ध बनाएको नाग्म-गमगढी सडकखण्डको अवरोध हटाइयो, सुरु भयो आवागमन

मुगु : हिमपातका कारण बन्द भएको नाग्म–गमगढी सडकखण्डमा सवारी साधन चल्न थालेका छन्। सडकखण्डको भुलभुले र सात मोडमा हिउँ जम्दा र पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको थियो।
सडक अवरुद्ध हुँदा मुगु जोड्ने कर्णाली राजमार्ग र रारा घुम्न जाने पर्यटकीय मार्ग प्रभावित भएको थियो। सडक डिभिजन जुम्ला, प्रहरी, र स्थानीयको सक्रियताले सडकको अवरोध हटाइएको हो।
मेसिन र जनशक्ति परिचालन गरी भुलभुले, सात मोड र जिअ भिड क्षेत्रको हिउँ र पहिरो हटाइएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए। सडक खुलेसँगै मुगुका बासिन्दा र रारा जाने पर्यटकलाई आवतजावतमा सहज भएको हो।
प्रहरी चौकी गोठिज्युलाबाट खटिएको टोली र स्थानीयले जिअदेखि भूलभुलेसम्मको करिब ४ किलोमिटर क्षेत्रमा पहिरो पन्छाएका थिए।
सडक अवरुद्ध हुँदा रारा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू उतै अड्किएका थिए।
फागुन १८, २०८१ आइतबार १६:२३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।