इभी ट्याक्सी हस्तान्तरण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री प्रमुख अतिथि, मन्त्री अतिथि

इभी ट्याक्सी हस्तान्तरण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री प्रमुख अतिथि, मन्त्री अतिथि

काठमाडौँ : सरिना जी ट्रेड प्रालि लिमिटेडले ल्याएको इभी ट्याक्सी हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका दुई मन्त्री सहभागी भए।बुकिङ गरिएका ट्याक्सीहरू हस्तान्तरण गर्न आइतबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ सहभागी भए।

कार्यक्रममा मुख्यमन्त्री लामाले ट्याक्सीहरूलाई व्यवस्थित गर्न प्रदेश सरकारले नीति बनाएर काम गरिरहेको बताए। ट्याक्सीहरूको राम्रो व्यवस्थापन गर्नुका साथै नागरिक र व्यवसायीबिच सम्बन्ध कायम गर्ने गरी नीति ल्याइएको दाबी समेत गरे।

‘बागमती प्रदेश सरकारले ट्याक्सीहरूलाई व्यवस्थित गर्न नीति बनाएका छौँ। नीतिको आधारमा इभी ट्याक्सी व्यवस्थित हुने विश्वास छ,’ उनले भने ‘प्रदेश सरकारले सबैले चढ्न सक्ने खालको ट्याक्सीको अवधारणा तयार गरेर नीति तयार गरेका छौँ।’

समारोहमा बाग्मती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री श्रेष्ठले इभी ट्याक्सीको व्यवस्थापनमा सरकार गम्भीर रहेको दाबी गरे। सरिना जी ट्रेड प्रालि लिमिटेडका सञ्चालक राजु श्रेष्ठले इभी ट्याक्सीको आयात र विक्री वितरणमा सरकारले सहज नीति अवलम्बन गर्नुपर्ने सुझाव दिए।

उनले ठुला र मझौला व्यवसायीका समस्यालाई एकमुष्ट सम्बोधन गर्ने गरी सरकारले कार्यक्रमहरू ल्याउनुपर्ने बताएका थिए।

जी ट्रेड प्रालिले नेपालमा जेएमइभी ब्रान्डको ट्याक्सी ल्याएको हो। ट्याक्सीलाई ४१ लाख ५० हजार रुपैयाँ पर्ने र १ लाख १ हजार रुपैयाँ भुक्तानी गरी बुकिङ गरिएको कम्पनीले जानकारी दियो।

जेएमइभीको सेडान कार जीएसइलाई हालै जगदम्बा मोटर्स अन्तर्गतको शौर्य अटोमोबाइल्सले सार्वजनिक गरेको थियो। लगत्तै अर्को कम्पनीले यसको ट्याक्सी भर्सन नेपाल ल्याएको हो।

फागुन १८, २०८१ आइतबार १६:१४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।