माओवादी र मधेशी जनताको बलियो एकता रहेको प्रचण्डको दाबी, मधेशमुक्तिको जिम्मा लिने प्रतिबद्धता

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी जनता र माओवादीबीच बलियो एकता रहेको दाबी गरेका छन्।
धनुषाको कमला नगरपालिका–३ पर्सामा आयोजित शहीद परिवार सम्मान तथा जनभेटघाटमा प्रचण्डले मधेशको मुक्तिका लागि ठूलो बलिदान गरेको माओवादी भएको स्मरण गराए।
उनले महिला, जनजाति, दलित, मधेशी, मुस्लिम, थारु लगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं शहीदले बलिदान गरेको र मधेशी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेशी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको बताए।
मधेशी जनताको मुक्तिका लागि मधेशी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेशी जनतामा जागरणको लहर ल्याउने, मधेश स्वायत्त जनसरकारमार्फत संघीयताको व्यवहारिक अभ्यास गर्ने, संविधानमार्फत संघीयता, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रूपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेशको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने लगायत महत्त्वपूर्ण काम आफ्नै पार्टीले गरेको उनको दाबी छ।
अध्यक्ष प्रचण्डले अब आफूलाई मधेशका मसिहा ठान्ने दलहरूबाट मधेशी जनताको मुक्ति सम्भव नभएकाले मधेशमुक्तिको जिम्मा सम्पूर्ण रूपमा माओवादीले नै लिने प्रतिबद्धता व्यक्त गरे।
फागुन १८, २०८१ आइतबार ११:४४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।