परम्परागत बौद्ध शिक्षालाई मूलधारमा समेट्दै शेचेन महाबौद्ध विद्यालय, तोरमा बनाउनेदेखि कम्प्युटर साइन्ससम्मका पाठ्यक्रम

परम्परागत बौद्ध शिक्षालाई मूलधारमा समेट्दै शेचेन महाबौद्ध विद्यालय, तोरमा बनाउनेदेखि कम्प्युटर साइन्ससम्मका पाठ्यक्रम
तस्विर : दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : औपचारिक रूपमा कक्षा पाँचसम्मको मात्र पढाइ। विद्यार्थी पनि ३० जना मात्र। २०७२ सालको भूकम्पपछि शेचेन महाबौद्ध विद्यालयका विद्यार्थीहरू पालमै बसेर पढ्न बाध्य थिए। खर्च व्यवस्थापन गुम्बा सञ्चालन समितिले नै धान्दै आएको थियो। यद्यपि विद्यालय व्यवस्थित ढङ्गले चल्न सकेको थिएन।

सोही वर्ष विद्यालयको नेतृत्व गर्न प्रधानाध्यापक बनेर आए- झविन्द्र सुवेदी। धार्मिक विद्यालय नै भनेर त्यसअघि कहीँ नजोडिए पनि धार्मिक शिक्षामा संलग्न रहेर पढाएको अनुभव थियो उनीसँग। पालमै बसेर उनले पाँच कक्षासम्मका विद्यार्थीलाई एउटै विषयको पाठ्यपुस्तक पढाए। व्यवस्थापन पक्ष दह्रो हुँदै गर्दा उनले कक्षा समेत थप गर्दै लगे।

‘हाम्रोमा अहिले १२ कक्षासम्म पढाइ हुन्छ,’ प्रधानाध्यापक सुवेदीले उकेरालाई भने, ‘हाम्रो गुम्बाको विद्यार्थीहरूले एसईई दिन थालेको चार वर्ष भयो अनि प्लस टु दिन थालेको दुई वर्ष। परम्परागत मात्र नभएर सरकारी मान्यता रहेको सर्टिफिकेट स्तरको जाँचमा सहभागी हुन पाउँदा विद्यार्थीदेखि गुम्बा व्यवस्थापन समिति नै उत्साहित छ।’

३० जनाबाट सुरू गरेको विद्यालयमा अहिले तीन सय विद्यार्थी छन्, शिक्षक भने ३० जना। छात्रवासको समेत व्यवस्था रहेको विद्यालयमा पूर्व-पश्चिम, उत्तर-दक्षिण सबैतिरका​​​​​​ विद्यार्थीले अध्ययन गर्छन्।

‘धेरैजसो चैँ जनजाति नै छन्। त्यसबाहेक जुम्लाका ठकुरी, क्षेत्रीसँगै मधेशका समेत विद्यार्थी छन्। हामी त अन्य जाती र समुदायको विद्यार्थी आउँदा झन् खुसी भएर भर्ना लिन्छौँ’, उनी भन्छन्।

विद्यार्थी संख्या बढ्दै जाँदा अहिले भइरहेको भौतिक पूर्वाधारहरूको कमी हुने देखिएको छ। त्यसका लागि गुम्बाका सदस्यहरूसँग कुरा राखिसकेका छन् उनले। नयाँ शैक्षिक सत्रका लागि अहिले नै ३०/४० जनाले नाम टिपाइसकेको उनी बताउँछन्।

अब आधुनिक शिक्षा पनि
भीडभाड र हो-हल्लाबाट टाढा, रातो पहिरनको एकैखाले कपडा, मंगोलियन अनुहारको बाहुल्य अनि गुम्बा परिसरभित्रै भव्य विद्यालय भवन। शेचेन महाबौद्ध विद्यालयमा उकेराकर्मी पुग्दाको अवस्था हो यो।

विद्यालयमा गुम्बाको प्रत्यक्ष संलग्न रहे पनि विद्यालय सञ्चालनको लागि भने आफ्नै व्यवस्थापन समिति बनाइएको रहेछ। शैक्षिक गुठी अन्तर्गत रहेको कारण गुठियारहरूले नै विद्यालय व्यवस्थापन समिति गठन गरेका रहेछन्, जसमा वडाका प्रतिनिधिदेखि शिक्षक प्रतिनिधि समेत छन्।

प्रधानाध्यापक सुवेदीका अनुसार गुम्बा र यसको दर्शन अनुसार पनि यसको संरचना पनि फरक-फरक हुने गर्छ। तर, औपचारिक शिक्षामा गएपछि भने शैक्षिक गुठी खडा गरेर, गुठीको विधान अनुसार विद्यालय सञ्चालन गर्नुपर्ने हुन्छ। विद्यालय पनि गुम्बाकै अङ्ग हो। गुम्बाका लामा, भिक्षुहरू नै यसका विद्यार्थीहरू हुन्।

शेचेनका विद्यार्थीहरूले चारवटा श्रेणीको विषयहरू पढ्दा रहेछन्। भाषागत रूपमा नेपाली, अंग्रेजी र भोट भाषा। विषयगत रूपमा विज्ञान, गणित, कम्प्युटर साइन्स अनि धार्मिक, अत्याध्मिक र बुद्ध दर्शन।

‘बौद्ध धर्मसँग सम्बन्धित भएको कारण यहाँका विद्यार्थीहरूलाई पूजा गर्न, तोरमा बनाउन, बाजा/झ्याम्टा बजाउन पनि आउनैपर्यो,’ प्रधानाध्यापक सुवेदीले भन्छन्, ‘हाम्रोमा सीप मात्र नैतिक शिक्षा, संस्कार र अनुशासन प्राथमिकतामा हुने गर्छ।’

परम्परागत शिक्षालाई मूलधारको शिक्षामा ल्याउने सरकारको योजना अन्तर्गत धार्मिक विद्यालयहरूलाई पनि मूलधार शिक्षामा समावेश गरियो। यसबारे मापदण्ड भने २०७९ मा मात्र जारी भएको हो। यसको आफ्नै पाठ्यक्रमको विकास गरेर मान्यता समेत दिइयो। सरकारी शैक्षिक कार्यतालिका, क्यालेन्डर अनुसार नै गुम्बामा विद्यालय सञ्चालन हुने गर्छ। शेचेनले पनि यसैलाई पछ्याइरहेको देखियो।

गुम्बा शिक्षालाई मूलधारको शिक्षामा समेटिएपछि यहाँका विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि जुनसुकै विश्व विद्यालयमा पढ्ने ढोका खोलेकोमा गुम्बा समिति खुसी छ।

‘अब त हाम्रो विधार्थीले चाह्यो भने लोक सेवामा लड्न पनि मिल्यो। उनीहरूको क्षमता फराकिलो भएको छ। सबैमा मोटिभेसनको कमी भएको कारण हाम्रोमा त यसको भरिपूर्ण छ नि!’, प्रधानाध्यापक सुवेदी थप्छन्।

साँघुरो पाठ्यक्रम, आफ्नै दयारा
शेचेनमा सबै पाठ्यक्रम सरकारी मान्यता प्राप्त नै पढाइ हुन्छ। तर, किताबमा ‘राम, हरि’ जस्ता नामहरू आएमा विद्यार्थीहरूलाई ‘तेन्जिङ, दोर्जे’ उल्था गरेर पढाइने गरिन्छ। त्यसो गर्दा विद्यार्थीलाई बुझाउन सहज हुने प्रअ सुवेदी बताउँछन्।

आधुनिक भनिए पनि सरकारी पाठ्यक्रमले आफ्नो क्षेत्र समेट्न नसकेकोमा उनको दु:खेसो छ। सरकारी पाठ्यक्रम र पाठ्यपुस्तकको मात्र भर पर्दा धेरै कुरामा पछि पर्नसक्ने भन्दै उनी त्यस्ता पुस्तकलाई आफूहरूले वैज्ञानिक ढङ्गले पढाउने गरेको दाबी गर्छन्।

शेचेनका विद्यार्थीहरू २४ घण्टा नै गुम्बा परिसरमा बिताउँछन्। विद्यालय समयपछि उनीहरूको गुम्बा र छात्रवासको समय सुरू हुन्छ।

बर्खामासमा धेरै किरा फट्याङ्ग्राहरु निस्कने हुँदा ती किराहरूलाई नकुल्चियोस् भनेर डेढ महिना उनीहरू कोही पनि गुम्बाबाहिर नै निस्कँदैनन्। विद्यालयको तालिकाभित्रै यो पनि समावेश छ।

त्यसबाहेक देव अवतरण दिवस ‘ल्हबाब दुछें’ पनि मनाइन्छ। बुद्धले आफ्नो आमालाई देवलोकमा उपदेश दिएर पृथ्वीलोकमा फर्किएको दिनको सम्झनामा ‘ल्हबाब दुछें’  मनाइन्छ। त्यसबाहेक यहाँ गुम्बाकै पुजा, पढाइ, खेलकुद हुने गर्छ।

‘गुम्बा बिहार भनेकै सिक्ने ठाउँ हो। पूजापाठ गर्ने, घन्टी बजाउने मात्र नभएर दर्शन, आयुर्वेद, व्याकरण, ज्योतिष शास्त्र त परम्परादेखि नै पढाउँदै आएको हो नि! हाम्रोमा खेम्बुहरू निस्कने ठाउँ हो। पछि लामा डाक्टर, इन्जिनियर पनि निस्कन सक्छन्। अहिले व्यावसायिक शिक्षामा बढी फोकस हुने बेलामा हामी चैँ व्यावसायिक नै भनेर पछि लागिसकेको अवस्था छैन’, प्रधानाध्यापक सुवेदी बताउँछन्।

परम्परागत शिक्षा र आधुनिक शिक्षाको राम्रो संयोजन भएको कारण पनि अहिले विद्यार्थी बढेको उनको अनुमान छ। यहाँ ताप्लेजुङ, खोटाङ, भोजपुर, मकवानपुर, बारा, हुम्ला, जुम्ला, मुगु, मनाङ, मुस्ताङ देखिको विद्यार्थी छन्।

‘राज्यले गर्नुपर्ने काम गुम्बाले गरिरहेको छ’
बुद्ध जन्मिएको देश भनेर राज्यले बौद्ध धर्मको प्रवर्द्धन गर्नुपर्नेमा त्यसो हुन नसकेकोमा प्रधानाध्यापक सुवेदी दु:खी देखिए। राज्यको काम गुम्बाहरूले आफ्नै बलबुतामा गरेकोमा उनी गर्व गर्छन्। गुम्बा शिक्षाको मुख्य उदेश्य कै बौद्ध शिक्षाको संरक्षण र प्रवर्द्धन गर्नु हो। यसको लागि विद्यालयले स्थानीय समुदायबाट प्रत्यक्ष/अप्रत्यक्ष रूपमा साथ पाइरहेको छ।

नेपालमा गुम्बा शिक्षाको स्पष्ट नीतिको बनिसकेको छैन। नीति नहुँदा र आर्थिक पक्ष बलियो  नहुँदा विद्यालयलाई अप्ठ्यारो परेको उनको भनाइ छ।

‘सरकारी अनुदानको कुरा आए पनि त्यो स्पष्टै भएन। उहाँहरूलाई मन लागेको बेला आउँछ, नत्र आउँदैन। हामी सरकारमा भर पर्नसक्ने अवस्था नै छैन,’ उनी गुनासो गर्छन्, ‘गुम्बाकै गुरू, उहाँका शिष्य र अनुयायीकै कारण हाम्रो गुम्बा यहाँसम्म आइपुगेका हौँ।’

दक्ष शिक्षकको अभाव र उपयुक्त पाठ्यपुस्तकमा समेत सरकारको खासै चासो नदेखिएको अवस्थामा उनी सरकारलाई गुम्बा शिक्षा बोर्ड बनाउन सुझाव दिन्छन्। त्यस बोर्डमा सरकारी प्रतिनिधिसँगै गुम्बा शिक्षा बुझेको प्रतिनिधि राख्नुपर्ने उनको धारणा छ।

उनी भन्छन्, ‘नेपालमा मूलधारको शिक्षा भनिएकै त व्यवस्थित हुन सकेको छैन। हामीलाई त मूलधारमा समावेश गरेको पनि धेरै भएको छैन। त्यै भएर यसमा खासै चासो नपुगेको पनि हुनसक्छ। तर, त्यसो भन्दैमा ढिला व्यवस्थित हुनपर्छ भन्ने चैँ होइन।’

प्रधानाध्यापक सुवेदी आफैँ बौद्ध विद्यालय समितिको सचिव पनि हुन्। उनका अनुसार समितिमा अहिले देशैभर जम्मा २१/२२ वटा मात्र विद्यालय छन्। गुम्बा विद्यालयहरू दर्ता हुने क्रममै भएको कारण यति संख्या भएको उनले बताए।

 हिमाली भेगका विद्यार्थीहरूको बढ्दो आकर्षण
‘किन्डर गार्डेन’मा पढ्नेदेखि १२ कक्षासम्म पढ्ने विद्यार्थी छन् शेचेनमा। त्यसबाहेक घेला, खेम्बुहरूको पनि बाक्लो उपस्थिति देखिन्छ। विद्यालय शिक्षा सकिएपछि उच्च शिक्षामा बाहिर पढ्न जाने बाहेक यहीँ बसेर थाङका सिक्ने, पद अनुसारले गुम्बाको काम र संरक्षणमा नै विद्यार्थीहरू सक्रिय हुन्छन्।

अधिकांश विद्यार्थीहरू यहाँ हिमाली भेगका छन्। हिमाली भेगका स्थानीयले आफ्नो मातृभाषालाई नै मुख्य भाषा मान्छन्। सरकारी कामकाज बाहेक पूरै समय उनीहरूले मातृभाषानै बोल्ने हुँदा सुरूमा यहाँ आएका विद्यार्थीहरूलाई पनि भाषाको समस्या हुने गरेको रहेछ। तर, उनीहरूले नेपाली नै नबुझ्ने/नबोल्ने भन्ने चैँ होइन।

‘सुरूमा नेपाली बुझ्न विद्यार्थीहरूलाई गाह्रो हुने गर्छ। शिक्षकसँग उनीहरूको तालमेल मिलेपछि त फेरि उनीहरूले एकदम छिटो सिक्ने गरेको पाइन्छ’, प्रधानाध्यापक सुवेदीले भने।

सात वर्षदेखिको छात्रलाई भर्ना गरिने यहाँ विद्यार्थीलाई पूर्ण रूपमा नि:शुल्क पढाइन्छ। किताब, कापीदेखि लिएर सम्पूर्ण पढाइको खर्च गुम्बाले नै बेहोर्छ।

तिब्बतियन स्वरूपको शेचेन 
२०३६/०३७ साल देखिनै काठमाडौंको बौद्धमा तिब्बतियन स्वरूपको गुम्बा बनाएर परम्परागत रूपमै शिक्षा दिँदै आएको शेचेनले आधुनिक शिक्षा दिन थालेको भने धेरै भएको छैन।

शेचेन गुम्बा, तिब्बतका छ वटा मुख्य निंग्मा गुम्बाहरू मध्ये एक हो। तिब्बती बौद्ध धर्मका चार प्रमुख विद्यालय मध्ये यो पनि एक हो। जसको सुरुवात गुरू पद्मसम्भवले गरेका थिए।

चीनले तिब्बतलाई आफ्नो स्वामित्वमा लिएपछि निर्वासन भएका डिल्गो ख्यान्तसे रिन्पोछेले यहाँ तिब्बतियन शैलीमै शेचेन टेन्नी डार्गेलिङ्ग गुम्बा बनाउने सोचमा थिए। उनी नेपाल आएको ३० वर्षपछि मात्र शेचेन गुम्बाले स्वरूप पायो। त्यहि बेलादेखि लामा, दावा र भिक्षुहरूले यहाँ शिक्षा लिँदै आएको छ।

तर, नेपाल सरकारले सम्पूर्ण धार्मिक विद्यालयहरूलाई आफू मातहतमा आउन भनेपछि मात्र शेचेनले आधिकारिक रूपमा दर्ता भएर यहाँका विद्यार्थीहरूलाई पढाउन थालेको हो।

शिक्षा ऐनमा परम्परागत शिक्षासम्बन्धी व्यवस्था अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को दफा १६ ले भने परम्परागत शिक्षा दिँदै आएका यस्ता धार्मिक विद्यालयहरूलाई पनि समेट्यो। परम्परागत शिक्षण संस्था (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७९ आए पछि भने धार्मिक विद्यालयलाई थप सहज भएको प्रधानाध्यापक सुवेदी बताउँछन्।

यी पनि:-

फागुन १८, २०८१ आइतबार ११:२५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।