रमजानको लागि भनेर लम्ब्याइयो गाजा युद्धविराम, नेतान्याहूले गरे अनुमोदन

रमजानको लागि भनेर लम्ब्याइयो गाजा युद्धविराम, नेतान्याहूले गरे अनुमोदन

एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा युद्धविराम सम्झौतालाई थप लम्ब्याउने प्रस्तावलाई अनुमोदन गरेका छन्।

यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकफले अघि सारेका थिए।

रमजान र यहूदीहरूको निस्तार चाडलाई ध्यानमा राख्दै सरकारले गाजा युद्धविरामलाई थप छ हप्ताको लागि अस्थायी रूपमा लम्ब्याइएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जानकारी दिए।

शनिबार मध्यरातमा पहिलो चरणको युद्धविराम समाप्त भएपछि यो घोषणा गरिएको हो।

स्टिभ विटकफको यो नयाँ प्रस्तावमा ‘यदि इजरायललाई दोस्रो चरणको वार्ता असफल भएको महसुस भयो भने उसले ४२ दिन पछि पुनः लडाईं सुरु गर्न सक्ने’ उल्लेख छ।

इजरायलले थप बन्धकहरूको तत्काल रिहाइ चाहिरहेको अवस्थामा हमास युद्धविरामको दोस्रो चरणलाई अगाडि बढाउन चाहन्छ।

युद्धविरामको पहिलो चरणमा दुवै पक्षले एक-अर्को देशको बन्दी रिहाइ गर्ने र दोस्रो चरणमा गाजाबाट इजरायली सेना हट्ने सहमति भएको थियो।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार इजरायललाई लगभग ४ अर्ब डलर बराबरको सैन्य सहायता वितरणलाई तीव्रता दिने सहमति भएको बताएका छन्।

फागुन १८, २०८१ आइतबार ०८:५९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।