फेरि रेशम फिलिली : हाँसोमा सामाजिक सन्देशको संगम

फिल्म रेशम फिलिलीमा मधेसी पात्रलाई जसरी निर्देशकले प्रस्तुत गरे अहिलेसम्म पनि त्यसको आलोचना हुन छाडेको छैन। व्यङ्ग्यको आवरणमा कला क्षेत्रमा जाती, भाषा र लिङ्गलाई कसरी भद्दा रूपमा प्रस्तुत गरिन्छ भन्ने प्रसङ्गमा नौ वर्षपछि पनि रेशम फिलिलीको हरियाको क्यारेक्टरको प्रसङ्ग छुट्दैन।
अहिले कमेडियन सजन श्रेष्ठले गायक कुम सागरको बोलीको टोनबारे एक पडकास्टमा उडाएको विषयको विश्लेषणमा पनि रेशम फिलिलीको त्यो पक्ष छुटेको छैन।
निर्माण पक्षलाई त्यो आलोचनाले राम्रै चेतना दिएको अनुभव भयो ‘फेरि रेशम फिलिली’ हेर्दा। यसमा पनि रेशम फिलिलीका मधेसी पात्र हरिया बनेका कामेश्वर चौरसिया छुटेका छैनन्। उनी त्यही पात्रको भूमिका छन्। तर हिजोको त्यो गल्ती दोहोरिएको छैन।
पहिलो भागमा यौनिक अल्पसंख्यक समुदायको सदस्यलाई पनि मजाक बनाएको थियो फिल्मले। निर्देशकले सिक्वेलमा पनि यौनिक अल्पसङ्ख्यक समुदायको विषय समेटेका छन् महेश त्रिपाठी मार्फत। रेशम फिलिलीमा जस्तो मजाकको पात्र बनाएका छैनन् उनले।
नौ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’ रिलिज भएको दोस्रो दिनमै ठुलो भूकम्प जाँदा हलमा फिल्मबारे दर्शकको दृष्टिकोण परीक्षण परीक्षण हुन पाएको थिएन। दुई दिनमै हलबाट फिल्म उत्रिन बाध्य भएको थियो।
त्यसकै सिक्वेल ‘फेरि रेशम फिलिली’ रिलिज भएको दोस्रो दिन पनि भूकम्प आयो। धन्न त्यसको झड्का फिल्म हलबाट उतार्न बाध्य पार्ने खालको थिएन। यो मानेमा पनि निर्माण टिम लक्की नै देखिए। तर दर्शक हल जाने मामिलामा अझैँ लक्की देखिएको छैन फिल्म।
नेपाली फिल्मको सिक्वेलको समस्या नाम पुरानै जोडिन्छ, पात्रको नाम पनि उही राख्छन् केहीमा। तर चरित्र र कथानक भिन्न हुन्छ, जोडिन्न। सेन्ट्रल थट नै भाताभुंग हुन्छ। त्यो सिक्वेल हो भन्ने अस्तित्व केही पात्र र नामले मात्र जोगाइरहेको हुन्छ। त्यसको सबैभन्दा गतिलो उदाहरण छक्कापञ्जाका सिरिज भन्दा अरू हुन सक्दैन।
यो पक्षमा पनि 'रेशम फिलिली' को निर्माण टिम सचेत देखिए। केही कलाकार बदलिएका छन् तर पहिलो फिल्मको कथाको ‘सेन्ट्रल थट’ छाडेका छैनन् निर्देशक निरोज महर्जनले। यसको अर्को गजबको पक्ष ‘फेरि रेशम फिलिली’ बुझ्न यसको पहिलो भाग ‘रेशम फिलिली’ हेर्नै पर्छ भन्ने बाध्यता छैन। ‘रेशम फिलिली’ नहेरे पनि 'फेरि रेशम फिलिली' मा पहिलो भाग त्यति धेरै मिस हुन्न। सहजै बुझिन्छ फिल्म।
अब फिल्मको कथासार।
‘रेशम फिलिली’ बहिनीको विवाह अनि आमालाई सुख दिन कतार जाने प्रयासमा रहेको पात्रमा केन्द्रित थियो भने ‘फेरि रेशम फिलिली’ त्यही कतार जान पनि असफल भएको पात्रको अमेरिका जाने संघर्ष छ। जिस्किएर भरेको डिभी परेपछिको अवस्थालाई पर्दामा उतारेका छन् निर्देशकले।
सहजै अमेरिका जान सकिने डिभीको आवेदन खुलेसँगै शहरदेखि बजारसम्म लाइन लाग्नु स्वाभाविकै हो। अहिले पनि लाग्छन्। यो फिल्ममा पनि डिभीको आवेदन खुल्छ, अनि गाउँमा लाइन सुरु हुन्छ।
निम्न वर्गीय परिवारका सदस्य रेशम (विनय श्रेष्ठ) डिभी भर्न चाहँदैनन्। उनलाई जिस्काउँदै जवर्जस्ती डिभी भरिदिन्छन्। कतार पनि जान नसक्नेलाई अमेरिका पठाइदिन्छु भन्दै जिस्किदै भरेको डिभी फर्मले काम गर्छ। रेशमलाई डिभी पर्छ। अनि ट्विट त्यहीँबाट सुरु हुन्छ।
गाउँलेको व्यवहार बदलिन्छ। अमेरिका जाने केटो भनेपछि विवाहका लागि केटी नपाउने समस्या नि हुँदैन। तर त्यसमै केही आरिशे पनि मिसिन्छन् जो जसरी पनि रेशमलाई अमेरिका जानबाट रोक्ने प्रयास गर्छन्। रेशम यी नै बाधाहरू पार गरेर अमेरिका जान पाउँछन् या पहिलो भागमा कतार जाने सपना तुहिए जस्तै अमेरिका जाने सपना पनि तुहिन्छ ? फिल्मको मुख्य पक्ष यही नै हो।
पात्रहरूमा विनय श्रेष्ठ अति सोझो रेशम भइहाले। उनले पहिलो भागको पात्रको चरित्र छाडेका छैनन् सिक्वेलमा पनि। डायलगमा मात्र हैन उनको गेटअपदेखि अति सोझोपना समेत ठ्याक्कै छ। नौ वर्षपछिको सिक्वेलमा पनि उही क्यारेक्टरमा बस्न सक्ने विनयको खुबी तारिफ योग्य छ।
फिल्मको बहाव पहिलो हाफमा केही बहकिएको अनुभव हुन्छ। एकै दृश्य अनि प्रसङ्गहरू दोहोरिइरहेको अनुभव नहुने हैन। तर जुरुक्क उठेर हाल बाहिरै जाने पर्ने गरी इरिटेट नै गराउँदैन। पहिलो हाफको तुलनामा दोस्रो हाफको गति र बगाई बलियो छ। कथा सिक्वेल लायक छ। पटकथामा गरेको मिहेनत पर्दामा देखिन्छ।
चतुर हरियाको भूमिकामा कामेश्वर चौरसिया नै छन्। पहिलो फिल्ममा उनी फिल्म खेल्न चाहने, अभिनयको भुत सवार पात्रको भुमिकामा थिए। यस पटक उनी भोजपुरी फिल्मको नायक बनेका छन् जो फिल्म फ्लप भएर हैरान छन्। रेशम फिलिलीको तुलनामा यस पटक उनको अभिनय फितलो देखियो। रेशम र हरियाको दोस्ती अनि हरियाले सोझो रेशमलाई फन्दामा पार्दाको 'रेशम फिलिली' को कनेक्सन सिक्वेलमा भत्किएको छ। फिल्मी क्यारेक्टर लिएका कामेश्वर अलि बढी नै फिल्मी देखिए। उनको कमिक टाइमिङ भने मजाको छ।
रेशमको अपोजिट भूमिकामा मेनुका प्रधानको साटो सिक्वेलमा मुना बनेर आएकी छिन् सुपुष्पा भट्ट। मेनुका र रेशमको जोडीको तुलनामा सुपुष्पासँगको केमेस्ट्री कमजोर देखिन्छ। तर दुवैको केमेस्ट्री मिलाउन निर्देशकले मिहिनेत गरेका छन् फिल्ममा। सुपुष्पाको अभिनयमा पनि केही सुधार देखिन्छ।
नयाँ कलाकारका रुपमा ज्वाला बनेका छन् नीर शाह जो छोरीका लागि अमेरिका लान सक्ने ज्वाइँको खोजीमा छन्। लक्ष्मी गिरी, शिशिर वाङ्देल सिक्वेलमा दोहोरिएका छन्। अभिनय ठिकै छ दुबैको। आरिसे हाजमोला बनेका मेक्सम गौडेल पनि नयाँ कलाकार हुन्। उनको अभिनय ठिकठाकै छ। सरप्राइज अभिनय हो महेश त्रिपाठीको। उनको अभिनय बलियो छ। विनयपछिको बलियो अभिनय त्रिपाठीकै देखिन्छ।
कमेडी जनरामा सामाजिक कथा मिसाउँदा कथाको बहावमा कतैकतै जर्क नआएको हैन। तै पनि दर्शक नभड्किने गरी फिल्मको कथालाई बगाएका छन् निर्देशकले। कथा अनि पटकथाको अन्य पक्षमा त्रुटि नै नभएको पनि हैन। त्यही त्रुटीले यो अब्बल फिल्म बन्नबाट चुक्यो। सम्पादन, सिनेमाटोग्राफी र ब्याकग्राउन्ड म्युजिक बलियो छ।
निम्न वर्गका रेशमदेखि धनाढ्य वर्गका ज्वालासम्मका पात्र मार्फत निर्देशक महर्जनले मजाले नेपाली समाजमा फैलिएको जसरी पनि विदेश जाने मोहलाई व्यङ्ग्यात्मक रूपमा मजाले प्रस्तुत गरेका छन्।
आफूले जिस्किएर फारम भरिदिएको रेशमलाई डिभी परेपछि उसलाई अमेरिका जानबाट जसरी पनि रोक्न लागेको हाजमोला अर्थात् मेक्सममार्फत कथामा द्वन्द्व निर्माण गर्न निर्माण गरिएका दृश्यहरू कमजोर छन्। हुन त कमेडी फिल्मको कथामा के को रियालिटी खोजेको होला भन्ने पनि लाग्न सक्छ। फिल्ममा सामाजिक कथा नमिसाएको भए हो पनि। तर निर्देशकले कमेडीसँगै गम्भीर सामाजिक विषय पनि मिसाइएकाले अलिअलि लजिकल पक्ष हेर्नु नाजायज हैन।
त्यस्तै रेशमलाई अमेरिका जानबाट रोक्ने उपायमा पासपोर्ट च्यात्ने प्रयन्त अनि आफ्नो पासपोर्ट जोगाउन जनैले बाँधेर राख्ने दृश्यहरू पनि त्यति पचेन। सहज पनि देखिएन फिल्ममा। द्वन्द्व निर्माणकै लागि विमानस्थल भित्रबाटै रेशमको आमाको अपहरण गरेको दृश्य पनि अतिरञ्जित देखियो। फिल्मै भए नि यतिको उडन्ते दृष्य त पच्दैन हो।
बसपार्कमा कामेश्वरले ‘हे राम’ भन्दा विनयलाई भगवान् रामको अवतारको रूपमा देखाउनुको अर्थ के हो? दर्शक अलमल पर्दा कथाको बगाई रोकिन्छ। अब त्यसको विशेष अर्थ भए हलहल गएर निर्देशकले हाते माइकबाट ‘वास्तवमा त्यो दृश्य राख्नुको अर्थ के हो भने’ भन्दै बुझाउनु पर्यो क्यार।
हाँस्यरसका फिल्मका निर्देशकहरुले सामाजिक सन्देश दिने चक्करमा गम्भीर सामाजिक प्रश्नहरू उठाउँछन् तर उत्तर दिने झन्झट गर्दैनन्। 'फेरी रेशम फिलिली'का निर्देशकले पनि यही सजिलो सूत्र अपनाएका छन्। क्लाइमेक्सलाई बलियो बनाउन सकिने स्थान पर्याप्त हुँदाहुँदै निर्देशक चिप्लिएको देखियो।
तर फिल्मका जे जति कमजोरीहरू छन् त्यसको तुलनामा बलिया पक्षको सङ्ख्या बढी छ। व्यङ्ग्य गर्न कुनै समुदाय वा व्यक्तिलाई उडाउनै पर्छ, डबल मिनिङका सस्ता जोक र डायलग राख्नैपर्छ भन्ने भ्रममा रहेका फिल्म मेकरहरुले यी विषय नराखी कसरी कमेडी जनराको फिल्म बनाउन सकिन्छ भन्ने सिक्न यो फिल्म हेर्दा हुन्छ। पटकथाको बलियो पक्षको अध्ययन गर्न पनि यो फिल्म काम लाग्छ है।
कमेडी जनराका फिल्म मन पर्छन् तर सस्ता जोक र उट्पट्याङ दृष्यले हल जाने हिम्मतै जुटाउन नसक्ने अवस्थामा पुगेको हो भने यस पटक हिम्मत जुटाए हुन्छ। 'फेरि रेशम फिलिली'ले निराश बनाउने सम्भावना कम छ।
फागुन १७, २०८१ शनिबार २१:५९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।