स्ट्रबेरी खेतीमा लागेका मुक्तिले कृषि सहुलियत ऋण खोजे तर पाएनन्

स्ट्रबेरी खेतीमा लागेका मुक्तिले कृषि सहुलियत ऋण खोजे तर पाएनन्

काभ्रेपलान्चोक : बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन व्यस्त छन्। कोरोना महामारीकाल’को सङ्कटमा उनलाई स्ट्रबेरी खेती गर्न मन लाग्यो। उनले चार वर्ष अगाडि खेती सुरु गरे। अहिले उनले हरेक वर्ष ३० लाख हाराहारीको स्ट्रबेरी बेच्ने गरेका छन्।

‘अहिले बजारीकरणको समस्या छैन, स्थानीय तथा उपत्यकाको बजारमा तीन सयदेखि सात सयसम्ममा स्ट्रबेरी बिक्री भइरहेको छ’, विष्टले भने। उनले दश रोपनी जग्गामा स्ट्रबेरी रोपेका छन्।

विष्टले स्ट्रबेरी रोप्ने सीप सिकेर व्यवसाय सुरु गरेका हैनन्। उनले अरूले रोपेको देखेकै भरमा खेती सुरु गरेका थिए। अहिले उनले लगाएको स्ट्रबेरी फल्न थालिसक्यो।

विष्टका अनुसार हरेक वर्ष खर्च कटाएर स्ट्रबेरीबारीबाट ३० लाख हाराहारी कमाइ हुने गरेको छ।  गत वर्ष सबै खर्च कटाएर ३० लाख बचत भएको उनले बताए। यसवर्ष यतिकै हाराहारीमा आम्दानी हुने उनको आश छ।

अहिले उनी मात्रै छैनन् यो खेतीमा पाँच जनाले रोजगारी पनि पाएका छन्। उनले अहिले विभिन्न सहकारी र बैंकबाट केही ऋण लिएका रहेछन्। व्यवसायका लागि सरकारले दिने सहुलियत ऋणका लागि प्रयास गरेका छन्। तर पाएका छैनन्।

उनी स्ट्रबेरीबाटै अन्य उत्पादन बढाउने योजनामा देखिए। स्ट्रबेरीखेतीबाट वाइन र जुस बनाउने कम्पनी स्थापना गर्ने योजनामा देखिए उनी। अहिले उनले स्ट्रबेरीको बेर्ना समेत तयार पार्ने गरेका छन्। उनले गत वर्ष ४० हजार बेर्ना बेचेका थिए।

विष्टले उत्पादन गरेको स्ट्रबेरीको मुख्य बजार बनेपा, धुलिखेल, पाँचखाल, पनौती, काठमाडौँ, पोखरा र चितवन हो। स्ट्रबेरीको बिरुवा भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीसम्म पुग्छ। प्रति बिरुवा २५ देखि ३० सम्म लिने गरेको उनले बताए।

फागुन १७, २०८१ शनिबार १९:३६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।