मुलकोटमा सवारी दुर्घटना, आठ जना घाइते

मुलकोटमा सवारी दुर्घटना, आठ जना घाइते

सिन्धुली : सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–५ मुल्कोटमा सवारी दुर्घटनाहुँदा आठ जना घाइते भएका छन्। झापाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र. ०२–००१ ज ००६ नम्बरको विद्युतीय गाडी अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएको हो।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हो। दुर्घटनामा काठमाडौँ महानगरपालिका–१६ बस्ने ५२ वर्षीया विष्णुमाया लालचन, ५६ वर्षीया यमकुमारी हिराचन, ५८ वर्षीया पदमकुमारी जुवारचन, ३० वर्षीया हानानी जुवारचन, १६ वर्षीया हास्मी जुवारचन, ६२ वर्षीय जनकलाल हिराचन, ५६ वर्षीय शक्तिलाल जुवारचन र सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी १९ वर्षीय सहचालक निशान तामाङ घाइते भएका छन्।

काफ्लेका अनुसार घाइतेको अवस्था खतरामुक्त छ र उनीहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। सवारी चालक, सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी २४ वर्षीय सुजन बल भने सकुशल छन्।

फागुन १७, २०८१ शनिबार १९:२०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।