मधेससँग सम्बन्ध सुधार्न चाहन्छौँ : प्रचण्ड

मधेससँग सम्बन्ध सुधार्न चाहन्छौँ : प्रचण्ड
सामूहिक बलात्कारपछि शङ्कास्पद मृत्यु भएकी सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको घरमै पुगी परिवारसँग भेटेर घटनासम्बन्धी जानकारी लिनुहुँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उहाँले आफ्नो पार्टीले रिङ्कुकुमारीको न्यायका लागि आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गर्र्नुभएको छ । तस्बिरः सुदीप राउत/रासस

सिरहा : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संशोधनका नाममा संविधान उल्टाउने खेल भइरहेको दाबी गरेका छन्।

एमाले-माओवादीको गठबन्धन बदलेर कांग्रेस-एमालेको गठबन्धन बन्दा प्रमुख बुँदा संविधान संशोधन राखिएको थियो। त्यसयता प्रचण्डले यस्तै दाबी गर्दै आएका छन्।

माओवादी तराई–मधेस जनजागरण अभियानअन्तर्गत सिरहा सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले संविधान उल्टाउने प्रयास सफल हुन नदिइने दाबी समेत गरे।

‘अहिले सरकारमा रहेका दलहरू नै संविधान संशोधनको कुरा गरेर नेपाली जनताको अधिकार सङ्कुचित गर्ने, दुई दलीय व्यवस्था कायम गर्नेतर्फ लागेका छन्,’ उनले भने ‘जनताको बलिदानबाट प्राप्त यो संविधान उल्टाउने खेल सफल हुन दिन्नौँ।’

विगतका कमजोरी सच्याएर मधेसी जनतासँग पुनः गहिरो सम्बन्ध कायम गर्न आफूहरूले हुलाकी अभियान सुरु गरेको उनले बताए। मधेसी जनताको पक्षमा र मधेसी जनताको आत्मसम्मानका लागि आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहेको उनको दाबी थियो।

उनले आफू पहिलो पटक प्रधानमन्त्री बन्दा भारतसँग कुरा गरेर हुलाकीमार्ग निर्माणको प्रक्रिया अगाडि बढाएको दाबी समेत गरे। चोहर्वा–सिरहा, सिरहा–कल्याणपुर–मिर्चैया सडक निर्माण, माडर भन्सारको स्तरोन्नतिका लागि निरन्तर प्रयास गर्ने उनको दाबी थियो।

फागुन १७, २०८१ शनिबार १९:०२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।