‘अनोरा’ को अस्कर यात्राले न्यूयोर्कका यौनकर्मीहरूमा बढाएको आत्मविश्वास

एजेन्सी : सन् २०२२ मा लुना सोफिया मिरान्डाले न्यूयोर्कको एउटा स्ट्रिप क्लबमा सिन बेकरलाई भेट्दा उनलाई प्रभावित पार्ने भरमग्दुर प्रयास गरिन्।
तर बेकरले ल्याप डान्समा चासो राखेनन्। २३ वर्षकी मिरान्डाले उनीहरू स्ट्रिप क्लबमा किन आएका हुन् भनेर जिज्ञासा राखिन्।
‘म धेरै कौतूहल स्वभावकी छु,’ उनी भन्छिन् ‘त्यसैले मैले उनीहरूलाई निरन्तर प्रश्न सोधिरहेँ। उनीहरू स्ट्रिपरहरूको बारेमा फिल्म बनाउँदै रहेछन्।’
उनले अभिनयबारे अध्ययन गरेको कुरा बताइन्। उनले अडिसनको मौका पाइन्। अनि आफ्नो २४ औँ जन्मदिनको दिन फिल्ममा अनुबन्ध भएको फोन सन्देश पाइन्।
त्यही फिल्म, अनोरा आइतबार हुने अस्कर पुरस्कारको दाबेदारमा अग्रपङतीमा छ।
बेकरद्वारा निर्देशित फिल्म अनोरामा माइकी म्याडिसनले मुख्य भूमिका निभाएकी छिन्। न्यूयोर्ककी एक स्ट्रिपरको भूमिकाका लागि उनी यो फिल्मबाट उत्कृष्ट अभिनेत्री श्रेणीमा मनोनीत भएकी छिन्।
२५ वर्षीय म्याडिसनले आफ्नो भूमिकाका लागि वास्तविक स्ट्रिपरहरूको सहयोग लिएकी थिइन्। गत महिना जब उनले बाफ्टा फिल्म पुरस्कार जितिन् उनले त्यो पुरस्कार यौनकर्मी समुदायलाई समर्पित गरिन्।
‘फिल्मको अनुसन्धानको क्रममा मैले त्यो समुदायका केही सदस्यहरूसँग भेटघाट गर्ने मौका पाएँ, र त्यो नै फिल्म निर्माणको सबैभन्दा अद्भुत पक्ष रह्यो,’ उनले ब्याकस्टेजमा भनिन् ‘उनीहरू सम्मानका हकदार छन् तर प्रायः पाउँदैनन्। त्यसैले मैले केही बोल्नु आवश्यक थियो’।
फिल्ममा काम गर्ने अभिनेत्री, स्ट्रिपर र नर्तकीहरूसँग उनीहरूको अनुभव र फिल्मप्रतिको प्रतिक्रियाबारे बुझ्दा केहीले फिल्मलाई यथार्थपरक भनेर प्रशंसा गरे। विशेष गरी यौनकर्मीहरूले प्रायः अनुभव गर्ने अस्वीकार र थकानको चित्रणमा छ फिल्ममा। तर केहीले फिल्म ‘सीमित’ भएको टिप्पणी समेत गरे।
लन्डनकी २१ बर्सिया एडी टर्के अनोरा फिल्ममा पृष्ठभूमिको नर्तकीको रूपमा देखा परिन्। सुरुमा उनले फिल्ममा सहभागी नहुने सोचेकी थिइन्।
‘मैले सुटिङमा नजाने विचार गरेँ' उनले भनिन्।
बेलायती मूलकी २१ बर्सिया टर्केले बाल्यकालमा ह्यारी पटर स्पिन-अफ फ्यान्टास्टिक बिस्टमा अभिनय गरेकी थिइन्। हाल उनी न्यूयोर्कमा विद्यार्थी छिन् र स्ट्रिपरको रूपमा काम गर्छिन्।
एक कास्टिङ एजेन्टले उनी काम गरिरहेको क्लबमा उनलाई देखेपछि अनोरामा पृष्ठभूमि नर्तकीको भूमिकाका लागि प्रस्ताव गरेका थिए। उनी त्यो बेलामा सहमत भइन्। तर फिल्म छायाङ्कनको अघिल्लो रात उनी सुटिङमा जाने कि नजाने द्विविधामा परिन्।
‘म स्ट्रिपर उद्योगलाई हानि पुर्याउने कुनै कुरामा भाग लिन चाहन्नथेँ, त्यसैले म द्विविधामा थिएँ, उनले भनिन् ‘स्ट्रिपरहरूको बारेमा बनेका अधिकांश फिल्महरू कि अत्यधिक सौन्दर्यीकरण गरिएका वा खराब शोषण देखाइएका हुन्छन्।’
एडीले २०२० को फिल्म 'जोला'को उदाहरण दिइन्, जुन एक वेट्रेसको कथामा बनेको थियो। छिटो पैसा कमाउन एक सप्ताहान्तका लागि फ्लोरिडामा स्ट्रिपिङ गर्न जाने पात्रको कथामा फिल्म केन्द्रित थियो।
‘मैले त्यो कथा अतिशयोक्तिपूर्ण पाएँ। कामलाई अत्यधिक प्रशंसा गरिएको र महिलाहरूलाई तल पारिएको जस्तो लाग्यो,’ उनले भनिन्।
'प्रिटी वुमन' फिल्मले पनि उनको चित्त बुझेन। त्यो फिल्मको जुलिया रोबर्ट्सले निर्वाह गरेको स्ट्रिट वर्करको कल्पनाले उनको चित्त दुखेको रहेछ।
जब फिल्म ‘अनोरा’ सिन बेकरको भएको चाल पाइन् अनि उनले आफ्नो विचार बदलिन्।
‘उनका फिल्महरू यथार्थवादमा आधारित हुन्छन्। मलाई उनको शैलै धेरै मन पर्छ,’ उनले भनिन् ‘त्यसैले म तयार भएँ।’
बेकरको फिल्म निर्माण कौशलले नै लिन्डसे नर्मिङ्टनलाई पनि फिल्ममा काम गर्न आकर्षित गर्यो। अभिनेत्री र स्ट्रिपर नर्मिङ्टनले डायमन्डको भूमिकामा अभिनय गरेकी छिन्, जो अनोराकी शत्रु हुन्।
लिन्डसेका अनुसार उनले सिन बेकरलाई एक फिल्म प्रिमियरको पार्टीमा देखेकी थिइन्। आफू उनको प्रशंसक भएको बताउन उनीसम्म गइन्।
उनीहरू इन्स्टाग्राममा जोडिए, र केही महिनापछि बेकरले उनलाई सम्पर्क गरे। उनले नयाँ फिल्ममा उनको लागि भूमिका हुनसक्ने बताए। उनी निकै खुसी भइन्।
उनले माइकीलाई स्ट्रिपर शब्दावलीहरू सिकाइन्। फिल्ममा लुना सोफिया मिरान्डा लुलुको रूपमा अभिनय गर्छिन्, जो अनोराकी सबैभन्दा मिल्ने साथी हुन्।
फिल्ममा, अनोराले जब धनी रुसी व्यक्तिको छोरालाई भेट्छिन् र प्रेममा पर्छिन् उनलाई स्ट्रिपरको काम छाड्ने मौका आउँछ।
मिरान्डाका अनुसार उनलाई म्याडिसनलाई न्यूयोर्कको वास्तविक यौनकर्मी जस्तै बोल्न सिकाउने जिम्मेवारी दिइएको थियो।
‘मैले भाषा र शब्दावलीको एउटा पीडीएफ बनाएर दिएँ। त्यसमा न्यूयोर्कका स्ट्रिपरहरूले मात्र बुझ्ने शब्दहरू थिए,’ उनले भनिन्।
त्यस्ता शब्दहरूमध्ये एक "ह्वेल" थियो। उनका अनुसार ‘ह्वेल’ भनेको त्यस्तो ग्राहक हो जो असीमित पैसा खर्च गर्ने क्षमता राख्छ। उसले छानेमा रात सफल हुन्छ। धेरै मेहनत पनि गर्न लगाउँदैन।
फिल्ममा लस एन्जेल्स आधारित स्ट्रिपर र कोरियोग्राफर केन्नडी श्नाइडर पनि संलग्न थिइन्, जसले म्याडिसनलाई नाच्न सिकाइन्।
उनका अनुसार, म्याडिसनले आफ्नो एलए स्थित घरमा एउटा पोल जडान गरिन्। त्यसपछि यो जोडीले ‘सेक्सी रुटिन’ मा काम गर्न थाले।
मिरान्डाका अनुसार फिल्मका हृदयविदारक र अस्वीकृतिका धेरै विषयवस्तुहरू उनको जीवनसँग सान्दर्भिक छन्।
‘कहिलेकाहीँ मलाई आफू चम्किलो खेलौना जस्तो लाग्छ जसलाई मानिसहरू खेल्न चाहन्छन्। उनीहरू मलाई देखेर वाह भन्छन्। तिमी कति राम्री छौ भन्छन्,’ उनले भनिन् ‘ तर अन्त्यमा उनीहरूले एकातिर फ्याँक्छन् र छाडिदिन्छन्।’
टर्के पनि यसमा सहमत छिन्। फिल्ममा स्ट्रिपरहरूले व्यथालाई सटीक रूपमा चित्रण गरेको उनको अनुभव छ।
तर समग्रमा, फिल्मप्रति आफ्ना मिश्रित भावनाहरू रहेको उनले बताइन्। फिल्म यौन सुखका लागि पैसा खर्च गर्ने पुरुषहरूमाथि उठाउनुपर्ने नैतिक प्रश्नबारे त्यति सन्तुष्ट देखिइनन्।
‘प्रायः फिल्महरू यसको जवाफ दिन वा यसलाई सम्बोधन गर्नबाट पन्छिन्छन्’ उनले भनिन्।
नर्मिङ्टनका लागि भने, फिल्मले "असुरक्षा, प्रतिस्पर्धा र ईर्ष्या" लाई प्रतिबिम्बित गर्यो, जुन उनले व्यक्तिगत रूपमा क्लबहरूमा अनुभव गरेकी छिन्।
कुनै आदर्श स्ट्रिपर फिल्म बनाउने प्रयास नगरी धेरै यथार्थतामा आधारित भएकोमा उनी सन्तुष्ट देखिइन्।
फिल्मको सुरुवाती दृश्यहरूमा, अनोरालाई क्लबमा ग्राहकहरूसँग कुरा गर्दै, काम गरिरहेको देखाइएको छ। अनि उनी र अन्य स्ट्रिपरहरूलाई दिउँसोको खानाको समयमा पछाडिको कोठामा टपरवेयर बक्सहरूबाट खाना खाँदै गरेको देखाइएको छ।
"धेरैजसो [स्ट्रिपर] फिल्महरूमा, तपाईँले छतबाट पैसा खसिरहेको देख्नुहुन्छ, जसले गर्दा यसलाई अति प्रशंसा गरिन्छ। त्यस्ता क्षणहरू आउँछन् तर विरलै हुन्छन्,’ उनले भनिन् ‘यो बढी शान्त सङ्घर्ष हो।’
जब अनोरा रिलिज भयो, न्यूयोर्क र एलएमा यौनकर्मीहरूका लागि विशेष स्क्रिनिङहरू आयोजना गरियो।
सामाजिक सञ्जालमा प्रसारित भिडियोमा स्ट्रिपरहरूले स्क्रिनिङको अन्त्यमा प्रशंसामा टाउकोमाथि उच्च-एडी प्लेटफर्म प्लिजर जुत्ताहरू ठटाएको देखिन्छ। यसले कलाकारहरु निकै खुसी भए।
अब भने सबैको नजर अस्करमा छ।
मिरान्डा र नर्मिङ्टन दुवै अस्कर समारोहमा जाने तयारीमा छन्। मिरान्डा जब अस्करमा जाने कुरा सम्झिन्छिन् उनलाई अलिक हास्यास्पद लाग्छ। किनकि उनी जुन बेला अस्कर समारोहमा सहभागी भएको दृश्य सम्झिइरहेकी हुन्छिन् त्यही बेलामा क्लबमा २० डलरको लागि कुनै ग्राहकसँग बहस गरिरहेकी हुन्छिन्।
‘मलाई अहिले दुई अलग जीवन बाँचिरहेको जस्तो लाग्छ’ उनले भनिन्।
उनले यौनकर्मी समुदायले पाउनुपर्ने सम्मान नपाएको भन्दै फिल्म अनोराको सफलताले त्यसमा परिवर्तन ल्याउने आशा व्यक्त गरिन्।
‘यदि यो फिल्मले अस्कर जित्यो भने, यसले हलिवुडमा परिवर्तनको सुरुवात गर्ने आशा छ। यौनकर्मीहरूलाई कामदारको रूपमा मात्र नभई मनोरञ्जनकर्ताको रूपमा पनि सम्मान गरिने आश छ,' उनले भनिन् ‘यो फिल्मले अस्कर जित्यो भने, म त्यो परिवर्तन आफ्नै आँखाले हेर्न चाहन्छु।’
-बिबिसी
फागुन १७, २०८१ शनिबार १८:०३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।