रिंकु सदाको न्यायका लागि लहानमा प्रदर्शन

सिरहा : नवराजपुर गाउँपालिका-१ भगवतीपुर तामासुइयाकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कारपछि दुरुत्साहनपूर्ण हत्या भएको घटनामा दोषीउपर कानूनी कारवाही गर्न ढिलाई भएको भन्दै मुसहर समुदायले प्रदर्शन गरेका छन्।
मुसहर समुदाय सघर्ष समिति, सिरहाले सदरमुकाम लहानमा शनिबार प्रदर्शन गरेको हो। उनीहरूले वास्तविक अपराधी पक्राउ गर्न प्रहरीले आनाकानी र ढिलाई गरिरहेको भन्दै दोषीलाई कानूनको कठघरामा ल्याउन ढिलाई गरे कडा सघर्षमा उत्रिने चेतावनी पनि दिए।
मुसहर समुदायका अगुवा अरुण सदाले दलित, गरिब र कमजोर वर्गप्रति न्याय गर्न र उनीहरूको सुरक्षा प्रवन्ध गर्न सरकारसँग माग गरे। सदाले रिंकुलाई न्याय दिन ढिलाइ गरिए सिरहाको सडकमा आगो बल्ने दावी गरे।
उनले स्थानीय प्रहरी प्रशासनलाई चेतावनीयुक्त स्वरमा भने, ‘आन्दोलनको बाढीले बगाउला। सामुहिक बलात्कार र हत्या जस्तो जघन्य अपराधमा पनि अपराधी बचाउन खोज्ने प्रहरी तथा प्रशासनलाई छोडिने छैन।’
प्रदर्शनसहितको र्यालीले लहान बजार परिक्रमा गरेर स्थानीय प्रहरी र प्रशासन विरुद्ध चर्का नारा लगाएका थिए। कोण सभा गरी समापन गरिएको थियो।
फागुन १७, २०८१ शनिबार १३:२७:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।