ह्वाइट हाउसले भन्यो- अमेरिकी जनता युक्रेनलाई पैसा दिँदा दिँदै थाकिसके

एजेन्सी : अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकी जनता युक्रेनलाई पैसा दिँदा दिँदै थाकिसकेको जनाएको छ।
ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्धको व्यावहारिक वास्तविकतालाई स्वीकार गर्न नसकेको आरोप लगाइन्।
‘यो युद्ध धेरै वर्षदेखि चलिरहेको छ, उनका देशवासीहरू मरिरहेका छन्,’ उनले भनिन्, ‘र यो युद्धलाई आर्थिक सहयोग गर्नेहरू अमेरिकी जनता बिल तिर्दा तिर्दा थाकिसकेका छन्।’
परिस्थिति जेलेन्स्कीको पक्षमा नभएर अमेरिकी राष्ट्रपति ट्रम्पको पक्षमा रहेको भन्दै लेभिटले ट्रम्पको युद्धको अन्त्य चाहे पनि जेलेन्स्की युद्धको अन्त्य चाहेको जस्तो नदेखिएको टिप्पणी गरिन्।
यसअघि शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भएको भेटघाट चर्को बहसमा परिणत भएको थियो।
यस बहसमा विश्वभरका नेताहरूले प्रतिक्रिया दिइरहेका छन्। यस मामिलामा, अमेरिकाको विपक्षी डेमोक्र्याटिक पार्टीका धेरै नेताहरूले पनि राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई जेलेन्स्कीमाथि ‘दुर्व्यवहार’ गरेको आरोप लगाएका छन्।
फागुन १७, २०८१ शनिबार १२:०३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।