वन्यजन्तु आतंक र पूर्वाधार अभावले रित्तिँदै तेलपानी गाउँ

वन्यजन्तु आतंक र पूर्वाधार अभावले रित्तिँदै तेलपानी गाउँ

सुर्खेत : सुर्खेतको बराहताल गाउँपालिका-१ मा पर्ने तेलपानी गाउँ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ।

राष्ट्रिय निकुञ्ज नजिकैको गाउँ भएका कारण जंगली जनावरहरूले यहाँका स्थानीयलाई सास्ती दिन्छ। त्यही सास्ती खप्न नसकेर स्थानीयहरू लुम्बिनी प्रदेशको बर्दिया र प्रदेश राजधानी सुर्खेत बसाइ सर्न थालेका छन्।

बराहताल गाउँपालिका सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार २०७४ सालसम्म एक सय १५ घरधुरी भएको तेलपानी गाउँमा अहिले ८५ घरधुरी मात्र छन्। जंगली जनावरकै कारण तेलपानीबाट वर्षमा सरदर छ घरले बसाइँ सर्ने गरेको सुनाउँछन्-स्थानीय हस्त रखाल।

‘लगाएको खेती खान पाइँदैन। पालेका पशुपक्षीहरू पनि सुरक्षित हुँदैनन्। त्यसैले अधिकांश स्थानीय बर्दिया भुरिगाउँ बसाइ सरेर जान्छन्,’ उनले भने, ‘गोठमै पसेर बाघले गाईवस्तु मार्छ। खेतिपाती बाँदर र बँदेलले सखाप पार्छ। कुन दिन हामीलाई खान्छ। हुने खाने बसाइ सरे हामी बाध्यताले बसेका छौँ।’

गत पुसमा गाउँमा बाघ पसेर गोरु र ३० बाख्रा मारेपछि स्थानीयहरू थप त्रसित बनेका छन्। स्थानीय टीकाराम कामीका अनुसार घरमै बाँधेको बाख्रा समेत बाघले खाइदिने गर्छ।

‘चराउन लैजानु त परको कुरा। घरमै बाँधेको अवस्थामा समेत बाघले मारिदिन्छ,’ उनले भने, ‘पुसमा ३० बाख्रा र दुई गोरु बाघले गोठमै आएर मार्यो। खेतिपाती लगाउनैपर्यो। लगाए जोगाउनै मुस्किल पर्छ।’

पशु र बालीको क्षति बापत निकुञ्ज कार्यालय दुई चार हजार मात्रै क्षतिपूर्ति दिने गरेको उनको गुनासो छ। बाली जोगाउन रातभर जाग्राम बस्दा पनि आफूमाथि नै आक्रमण हुने डरले खेती लगाउन छाड्नुपर्ने अवस्था छ।

हस्त र टीकारामलाई मात्र होइन, मध्यवर्ती क्षेत्रमा पर्ने तेलपानी जस्ता अन्य गाउँका स्थानीयले वन्यजन्तुको आतंक सहनुपरेको छ।

बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको सुर्खेत मध्यवर्ती क्षेत्रमा आर्थिक वर्ष २०७५/०७६ को घरधुरी र जनसंख्या विवरण अनुसार भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाको दक्षिण क्षेत्रमा एक हजार ८ सय ३३ घर धुरीमा ९ हजार ९ सय २५ जनसंख्या छ।

उनीहरू कुनै न कुनै कारणबाट जंगली जनावरको आतंक सहिरहेका छन्। सुर्खेतको बराहतालका १ र ३, भेरीगंगा नगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा मध्यवर्ती क्षेत्रभित्र पर्छन्। यहाँका स्थानीयहरूले बाली र बस्तुभाउ जोगाउन वन्यजन्तुसँग द्वन्द्व गर्नुपरेको अवस्था छ।

खन्न थालेको ३० वर्षमा पनि हिँड्न लायक बनेन सडक
जिल्ला सदरमुकाम वीरेन्द्रनगरबाट तेलपानी गाउँ जाने बाटो सहज छैन। जसका कारण यातायातका साधन समेत चल्न सकेका छैनन्।

बर्दियाको भुरी गाउँस्थित अम्रेनीबाट सुर्खेतसम्म चिठी पत्र पुर्याउन तत्कालीन जिल्ला पञ्चायतले २०२५ सालमा हुलाकी सडकका रूपमा बर्दियातर्फ ट्रयाक खोलेको थियो। सुर्खेततर्फ २०५१ सालमा खन्न सुरू भयो। तर, अहिलेसम्म सडकको स्तरोन्नति हुन सकेको छैन।

वीरेन्द्रनगरबाट तेलपानीसम्म २८ किलोमिटरको दुरी छ। ०७४ सालपछि पालिकाको पहलमा तेलपानीसम्म ट्रयाक खुलेको छ। हिउँदमा  ट्याक्टरहरू आवतजावत भए पनि बर्खामा सडक बिग्रन्छ।

आर्थिक वर्ष २०७६/७७ यता कर्णाली प्रदेश सरकारले यो सडकलाई योजनामा समेटेको छ। तर, निकुञ्जसँग समन्वय हुन नसक्दा करिब डेढ किलोमिटर ट्रयाक खोल्न बाँकी नै छ। यो सडकले वीरेन्द्रनगरको मूलपानी, रानीघाट, तेलपानी हुँदै बर्दियाको भुरी गाउँ जोड्छ।

गाउँमा आलु खेतीको सम्भावना भए पनि यातायातकै कारण बाहिर पठाउन समस्या भएको स्थानीय लक्ष्मण बडुवालले गुनासो गरे।

‘आलु बोक्ने ट्याक्टर ल्याउनकै लागि गाउँलेहरू मिलेर बाटो मर्मत गर्छौँ। राम्रो बाटो नहुँदा भाडा महँगो पर्छ,’ उनले भने, ‘व्यापारीले भाडाको बहाना बनाएर थोरै मूल्य दिन्छन्।’

नियमित यातायात नहुँदा बिरामीलाई तीन घण्टा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको उनले बताए। भेरी नदीमा पुल, नियमित चल्ने सडक र जनावरबाट बाली जोगाउन जग्गामा तारबार भए अधिकांश बसाई सरेका व्यक्तिहरू फेरि गाउँ फर्किन सक्ने उनको भनाइ छ।

‘यहाँबाट सुर्खेत जाने गाडी पाउने ठाउँसम्म पुग्न तीन घण्टा हिँड्नुपर्छ। बर्दिया जाने गाडी भेट्न एक घण्टा हिँड्नुपर्छ,’ उनले भने, ‘त्यही भएर यहाँका मान्छे हरेक काम गर्न बर्दिया जान्छन्। यदि यातायातको पहुँच र तारबार भए मान्छे फेरि गाउँमा फर्किन्छन्।’

फागुन १७, २०८१ शनिबार १०:१४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।