मधेस बाहेकका स्थानमा ६६ मिलिमिटरसम्म वर्षा, काठमाडौँको धाप ड्याम क्षेत्रमा धेरै वर्षा

काठमाडौँ : मधेस प्रदेशबाहेक देशका अधिकांश भूभागमा शुक्रवार वर्षा भयो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार शुक्रवार पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ। उनले यो रेकर्डलाई भारी वर्षाका रूपमा लिइने बताए।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षा भएको छ। ती प्रदेशका धेरै ठाउँमा हल्का र मध्यम वर्षा भएको र केही ठाउँमा भारी वर्षा भएको छ।
बागमती प्रदेशका केही जिल्लाहरूमा पनि वर्षा भएको छ। सिन्धुपाल्चोकका क्षेत्रमा अहिले पानी परिरहेको उनले बताए। कोशीका थोरै भूभागमा पानी परेको छ।
शुक्रवार राति पनि ठाउँ ठाउँमा वर्षा हुने र भोलि शनिवार पनि मौसम बदली हुने तर सुधार हुँदै जाने पुडासैनीले बताए।
महाशाखाका अनुसार शुक्रवार रातिका लागि सुदूरपश्चिममा राति पनि वर्षाको सम्भावना छ। गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागमा केही ठाउँमा र कोशीको थोरै ठाउँमा वर्षाको सम्भावना छ।
कुन ठाउँमा कति पानी प-यो
पुडासैनीका अनुसार पछिल्लो २४ घण्टामा कालिकोटको रासकोट मापन केन्द्रमा ६६.२ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै बाजुरामा ५६, बैतडीमा ५२.६ मिलिमिटर वर्षा भएको छ। यो भारी वर्षा हो।
त्यसैगरी मध्यम वर्षा डडेलधुरामा ४६, अछाम ३१, हुम्लाको सिमिकोट ३५.२ मिलिमिटर वर्षा भएको छ । यता गण्डकी प्रदेशको मनाङमा हल्का १२.८, बारपाकमा १२.८, म्याग्दी १६.२ वर्षा भएको छ। यता बागमतीको मेलम्चीमा मध्यम वर्षा ३१.४ मिलिमिटर वर्षा भएको छ।
काठमाडौँको कीर्तिपुरमा १.४, बुढानीलकण्ठमा १.२, सुन्दरीलजमा १.४ र सबैभन्दा बढी ढाप ड्याममा ४.६ मिलिमिटर वर्षा भएको छ।
फागुन १६, २०८१ शुक्रबार २२:२१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।